Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    आयतीत गोलभेँडाले लोकल गोलभेँडा किसान मारमा

    आयतीत गोलभेँडाले लोकल गोलभेँडा किसान मारमा

    मेयर दिपनारायण रिजालले भने दिक्तेलबजारमा तराईका आयतित तरकारी ल्याउन नदिइएको दावी

    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    आयतीत गोलभेँडाले लोकल गोलभेँडा किसान मारमा
    गोलभेँडा हेरचाह गर्दै सोल्माका किसान गंगाबहादुर बिश्वकर्मा ।

    खोटाङ । साउन १५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खोटाङ कृषि फर्म सोल्माका सञ्चालक गंगाबहादुर बिश्वकर्मा गोलभेँडा लिएर दिक्तेलबजार पुग्छन् । तर, बिश्वकर्माले हाइटेकभित्र उत्पादन गरेका लोकल गोलभेँडालाई बजार पाउन हम्मे–हम्मे पर्छ ।

    कारण तराईबाट भित्रिएका सस्तो गोलभेँडा बजारमा छ्याप–छ्याप्ती पाइन्छ । तराईबाट भित्रिएका गोलभेँडा सस्तो र लोकल गोलबेँडा अलि महंगो पर्छ । उपभोक्ता तिनै सस्तो गोलबेँला खरिद गर्न अघि सरिरहेका हुन्छन् । दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिका सदस्य रहेका बिश्वकर्माले चिनजानका तरकारी व्यवसायीलाई गोलभेँडा थमाएर फर्किने गरेको बताए ।

    दिक्तेलबजारका तरकारी व्यवसायीले लोकल गोलभेँडा प्रतिकेजी ४५ देखि ५० रुपैयाँमा खरिद गरेर प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । तराईमा प्रतिकिलो २०/२५ रुपैयाँमा पाइने गोलभेँडा भने स्थानीयबजारमा ल्याएर प्रतिकिलो ४०/४५ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

    लोकल गोलबेँडाको लागत मूल्या नै प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने भएकाले तराईका गोलबेँडासँग प्रतिष्पर्धा गर्न गार्‍हो भइरहेको बिश्वकर्माले बताए । गोलभेँडा लगायतका खेती गर्ने अन्य किसानको समस्या पनि बिश्वकर्माको भन्दा फरक छैन । ‘लोकल गोलभेँडाको लागत मूल्या नै प्रतिकिलो २० देखि ३५ रुपैयाँ पर्छ ।

    यही कारण तराईको गोलभेँडासँग लोकल गोलभेँडालाई प्रतिष्पर्धा गर्न गार्‍हो छ,’ व्यवसायीक रुपमा कृषि कर्म गर्दैआएका बिश्वकर्माले भने, ‘जिल्लामा गोलभेँडा जस्ता तरकारी खेतीमा लागेका किसानको प्रोत्साहनका कार्यक्रम नल्याएसम्म व्यवसायीक कृषिको नारा सफल हुन्न ।

    तराईको तरकारीसँग प्रतिष्पर्धा गर्न नसक्ने वातावरणले कतिपय कृषक हतोत्साहत बन्ने अवस्था छ ।’ उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईका अनुसार दिक्तेलमा दर्जनौं तरकारी पसल छन् । त्यसमध्ये ४/५ वटा तरकारी पसल मात्र दर्ता गरेर सञ्चालनमा छन् ।

    त्यी तरकारी पसलमा तराईका गोलभेँडा आउँदा लोकल गोलभेँडालाई भने बजार पाउन सकस परिरहेको छ । तराईको गोलभेँडाकै दाममा लोकल गोलभेँडा बिक्री गर्नुपर्ने अवस्थाले स्थानीय किसान मारमा परेका छन् । तराईको तरकारीसँग बजारमा प्रतिष्पर्धा गर्न गार्‍हो हुने देखेर कतिपय कृषक तरकारी खेतीबाटै हच्किने गरेका छन् ।

    तर, तराईबाट भित्रिने गोलभेँडा लगायतका तरकारीलाई विस्थापित गर्ने कार्यक्रम जिल्लाका कुनै पनि स्थानीय तहले अंगीकार गर्न नसकेको किसानको गुनासो छ । लोकल गोलभेँडा हप्ता दिनसम्म राखेर प्रयोग गर्न सकिन्छ तर तराईको गोलभेँडामा दुई चार दिनभित्र प्रयोग नगरे भुसुनाजस्तो झिंगा लाग्ने कुहिन थाल्ने गरेको उपभोक्ताको अनुभव छ ।

    तराईबाट गोलभेँडा मात्र नभएर बन्दा, काउली, आलु, साग, खुर्सानी लगायतका तरकारीका थोक समेत गाडीका गाडी भित्रिने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने दिक्तेलबजारमा तराईका आयतित तरकारी ल्याउन नदिइएको दावी बताए ।

    ‘कोभिड–१९ को महामारी सुरु भएसँगै हामीले तराईका तरकारी ल्याउन दिएका छैनौं । बजारमा छन् भने लुकिछिपी ल्याएको हुनुपर्छ,’ मेयर रिजालले भने, ‘स्थानीय तरकारीले नै बजार धानिरहेकाले बाहिरका तरकारी ल्याउन अथोरिटि नदिने भन्ने छ । यसको बारेमा नगरपालिकाले मनिटरिङ गर्छ ।’

     

    सम्बन्धित समाचार