Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शहीद मनोज हत्याकाण्ड भएको ३० वर्ष पूरा

    शहीद मनोज हत्याकाण्ड भएको ३० वर्ष पूरा


    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    शहीद मनोज हत्याकाण्ड  भएको ३० वर्ष पूरा
    शहीद मनोज जोशीको शालिक । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । साउन १५, खोटाङका शहीद मनोज हत्याकाण्ड भएको ३० वर्ष पूरा भएको छ । २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

    दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

    बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।

    उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

    सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।

    दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो । वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए ।

    बिगतका वर्ष मनोजमार्ग सरसफाई, अस्पतालका बिरामीलाई फलफुल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगीता लगायतका कार्यक्रम गर्दै मनोज जोशी स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण शुक्रबार बिहान दिक्तेल अस्पतालचोकस्थित जोशीको समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रम मात्र आयोजना गरिएको छ । जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।

    सम्बन्धित समाचार