आइतवार, श्रावण १० २०७८
नेपाल वाइड
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या भएको आज ३ वर्ष पूरा भए पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो ध्यानाकर्षण गराएका हुन् । “बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनेका छन्, “प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारुढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ । बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔँ ।”