शनिवार, श्रावण ९ २०७८
नेपाल वाइड
काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सिम्बोलिक’ काम गरेको भन्दै धन्यवाद दिएका छन् । पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने घोषणा गरेकोप्रति नेताहरूले धन्यवाद दिएका हुन् ।
शनिबार साँझ बालुवाटारमै बसेको बैठकमा नेताहरुले ‘सानो काम तर ठूलो म्यासेज’ भन्दै प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए । “गठबन्धनका सबै नेताहरुले प्रधानमन्त्रीलाई तपाईंले एउटा सिम्बोलिक काम गर्नुभयो, नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु अब बालुवाटारमा गर्दिँन भनेर जुन घोषणा गर्नुभयो, यो सानो काम तर त्यसको ठूलो म्यासेज गएको छ ।
त्यसको लागि तपाईंलाई धन्यवाद । यही तरिकाको म्यासेज दिने कुरामा तपाईं दृढ भएर लाग्नोस्, हाम्रो सहयोग हुन्छ भन्नुभयो,” नेताहरुको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
जनताको हितमा काम गर्न, कोरोनाविरुद्धको खोप तत्काल ल्याउनेलगायत विषयमा नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । सरकारको सफल कार्यकालको लागि शुभकामना समेत दिएका थिए ।