बिहिवार, श्रावण ७ २०७८
नेपाल वाइड
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश दिएको छ । जसपा विवाद समाधान गर्न गठित इजलासको बिहीबार बसेको बैठकले पार्टी एकीकरण हुँदा सनाखत गरेका सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको हो ।
आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुन आदेश दिएको जानकारी दिए ।
पार्टी एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए । कार्यकारिणी समितिमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले बहुमत रहेको दाबी गरेको छ ।
यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरिरहेको छ । इजलासको आजको बैठकमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले यस्तो आदेश दिएको हो ।