शुक्रवार, श्रावण १ २०७८
नेपाल वाइड
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् कुनै पनि बेला आउनसक्ने हुनाले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिएका छन् । आज गृह मन्त्रालयको निकायहरू मध्ये एक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै मन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै, मन्त्री खाँणले विपदमा काम गर्ने सरकारी संरचनाहरूबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिदै गाउँ गाउँबाट विपद्को जनकारी तुरुन्तै पाउने संयन्त्रको विकास गरी मानवीय क्षतिलाई बचाउन जोड दिएका छन् ।
पछिल्लो समय पानी नपर्ने हिमाली भूभागमा पानी पर्ने जस्ता विपद्का कल्पना नगरेका जोखिम देखिन थालेको हुँदा बहुआयामिक ढङ्गले अघि बढ्नुपर्ने मन्त्री खाँणको भनाइ छ । अन्तरक्रियामा उनले विपद्का विभिन्न पक्षका बारेमा अध्ययन गर्नमा जोड दिएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले विपद्सँग सम्बन्धित विज्ञहरू सहितको कर्मचारीहरू व्यवस्थापनको ढाँचामा प्राधिकरण जान आवश्यक रहेको बताए ।