Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिशु पोषण प्रवर्धन कार्यक्रम :

    दिप्रुङ चुईचुम्मा : नियमित स्वास्थ्य जाँच गराइएका बालबालिकालाई प्रोत्साहन भत्ता

    दिप्रुङ चुईचुम्मा : नियमित स्वास्थ्य जाँच गराइएका बालबालिकालाई प्रोत्साहन भत्ता


    • मंगलवार, आषाढ २९ २०७८

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा : नियमित स्वास्थ्य जाँच गराइएका बालबालिकालाई प्रोत्साहन भत्ता
    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिशु पोषण प्रवर्धन कार्यक्रम अन्तरगत भत्ता बुझ्न बच्चा सहित भेला भएका महिला ।

    खोटाङ । असार २९, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले चार पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्म दर्ता गराएको लगायतका मापदण्ड पूरा गरेको आधारमा शिशु पोषण प्रवर्धन कार्यक्रम अन्तरगत मासिक जनही एक हजारका दरले दुई वर्षमुनिका ४९१ बालबच्चालाई प्रोत्साहन भत्ता वितरण गरेको हो ।

    ७ वडा रहेको गाउँपालिकामा गत असार २१ गतेदेखि असार २८ गतेसम्ममा टोल–टोलमा पुगेर चालु आर्थिक वर्षको गत साउनदेखि असारसम्मको शिशु पोषण प्रवर्धन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए ।

    गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, सम्वन्धित वडाका स्वास्थ्यचौकी इन्चार्ज लगायतले वालबालिकाका अभिभावकलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । गाउँपालिकामा स्वस्थ नागरिक उत्पादन गर्दै ‘स्वस्थ गाउँपालिका’ निर्माणका लागि शिशु पोषण प्रवर्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ९२ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ७२ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ६० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ६१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ७० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ३८ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ९८ जना बालबच्चालाई शिशु पोषण प्रवर्धन अन्तरगतको भत्ता वितरण गरिएको हो ।

    नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलव्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले २०७५ साल बैसाख १३ गतेदेखि प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाले आयोजना गरेको बिशेषज्ञ सहितको निशुल्क बृहत स्वास्थ्य शिबिर उद्घाटनकाक्रममा पुर्वस्वास्थ्यमन्त्री गगन थापाको हातबाट पहिलोपल्ट शिशु पोषण प्रवर्धन भत्ता वितरण सुरु गरिएको थियो ।

    गाउँपालिकाले प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गर्भवती आमाले नियमित गर्भजाँच गराउन थालेको, जन्मिसकेका बालबच्चालाई पनि नियमित स्वास्थ्यजाँच तथा नियमित खोप लगाउने संख्यामा सुधार आएको छ ।

    शिशु पोषण प्रवर्धन कार्यक्रम वापतको भत्ता दुई वटा बच्चा भएसम्म मात्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । ‘भ्रष्टाचार रहित जस्तै स्वस्थ गाउँपालिका बनाउनका लागि हामीले दुई वर्षमुनिका बालबच्चाका लागि प्रोत्साहन भत्ता दिन थालेका हौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘प्रोत्साहन भत्ताका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । दुई भन्दा बढि बच्चा जन्माएको हकमा भने प्रोत्साहन भत्ता दिइने छैन ।’

    सम्बन्धित समाचार