शनिवार, आषाढ २६ २०७८
नेपाल वाइड
खोटाङ । असार २६, विद्यार्थी टेबलको वरिपरि झुम्मिएर बसेका देखिन्छन् । कोही धातु पगालेर तार जोड्न तल्लिन देखिन्छन् । कोही विद्यार्थी प्रशिक्षकले ल्यापटपमा देखाएका ‘सस्तोक्यूव’ (स्याटेलाइटको सानो रुप) सम्वन्धी जानकारीलाई ध्यानपुर्वक अध्ययन गरिरहेका छन् ।
यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको हलमा ‘स्याटेलाइट’ सम्वन्धी आयोजना गरिएको तालिमको हो । वालबालिकालाई स्याटेलाइटका बारेमा सिकाउनका लागि शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा स्थानीय जनजागृति माविले सो तालिमको आयोजना गरेको हो ।
असार २१ गतेदेखि सुरु गरिएको सस्तोक्यूव फिल्ड टेष्ट एण्ड वेसिक इलेक्ट्रोनिक्स सम्वन्धी ६ दिने तालिममा जनजागृति आधारभुत विद्यालय सहित हिमालय मावि, सरस्वती मावि र पञ्च माबिका ५० विद्यार्थी सहभागी भएका छन् ।

विद्यार्थीलाई स्पेस (अन्तरिक्ष) वारे जानकारी दिँदै समस्या समाधानका लागि धर्तीमा मात्र सिमित नभएर धर्ती बाहिर (अन्तरिक्षमा) समेत चासो राख्ने उत्प्रेरणा जगाउनका लागि तालिमको आयोजना गरिएको हो । तालिमकाक्रममा तापक्रम मापन गर्ने, उचाई मापन गर्ने यन्त्रदेखि स्याटेलाइट निर्माण सम्वन्धी सीप सिकेको सहभागी छात्र अनिश प्रधानले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोगमा अन्तरिक्ष प्रतिष्ठान नेपाल र आविष्कार केन्द्रबाट ९ जनाको टोली ‘स्याटेलाइट’ सम्वन्धी प्रशिक्षणका लागि खोटाङ आइपुगेका छन् । तालिममा सहभागी विद्यार्थीलाई स्याटेलाइट निर्माणदेखि यसले गर्ने कामका बारेमा सिकाइएको अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रशासन अधिकृत पवन वमले बताए ।
‘स्याटेलाइट के–हो ? यसका पार्टस्हरु के–के हुन् ? यो कसरी बन्छ ? यसले कसरी काम गर्छ, के–के काम गर्छ भन्ने बारेमा विद्यार्थीलाई सिकाउनका लागि प्रशिक्षणको आयोजना गरिएको हो,’ वमले भने, ‘हामीले स्याटेलाइटको सानो रुप बनाएका छौँ जसलाई सस्तोक्यूव नाम दिएका छौँ । सस्तोक्यूव भन्नु र स्याटेलाइट भन्नु एउटै हो । हामीले विद्यार्थीलाई यो सस्तोक्यूवको पार्टस् जडान गर्नेदेखि पार्टस्ले गर्ने काम वारेमा जानकारी दिएका छौँ ।’

अन्तरिक्ष प्रतिष्ठान नेपालले तयार पारेको सस्तोक्यूव पहिलोपल्ट यही तालिममार्फत विद्यार्थीमाझ परिक्षणमा ल्याइएको हो । उपत्यका बाहिरका विद्यार्थीमाझ गरिएको परिक्षणका क्रममा सस्तोक्यूवको सुधार गर्नुपर्ने पक्ष पत्ता लगाएर थप परिस्कृत गर्दै लगिने अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।
नेपाल नेशनल कमिसन फर यूनेस्कोको सहयोगमा सस्तोक्यूवको फिल्ड टेष्टको व्यवस्था मिलाइएको हो । सस्तोक्यूवका माध्यमबाट विद्यार्थीलाई अन्तरिक्षको बारेमा अध्ययन र अनुसन्धान गर्न प्रेरित गर्ने लक्ष्य राखिएको अन्तरिक्ष प्रतिष्ठान नेपालमा आवद्ध सागर कोईरालाले बताए ।
अन्तरिक्ष प्रतिष्ठानका जनार्दन सिलवाल, देवराज पन्त, विकल्प ढुंगाना र सागर कोईरालाको टिमले करिब ६ महिना लगाएर स्याटेलाइटको सानो रुप सस्तोक्यूव तयार पारेका हुन् । अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभाष मास्केले केही समयअघि सिन्धुपाल्चोकको दुर्गम ठाउँमा पुगेकाबेला विद्यार्थीलाई ‘भविष्यमा के बन्ने ?’ भनेर प्रश्न गरेका थिए ।

भर्खरै ट्रक गुड्न थालेको त्यो ठाउँका धेरैजसो विद्यार्थीले ट्रक चालक बन्ने जवाफ दिए । त्यो सम्वादले स–साना बालबच्चाले ‘जे देख्छ र जे नयाँ लाग्छ’ त्यसकै आधारमा भविष्यको लक्ष्य निर्धारण गर्ने संकेत गरेपछि डाक्टर मास्केले विद्यार्थीलाई ‘स्पेस’का बारेमा रुची जगाउन सस्तोक्यूव निर्माणको अवधारणा अघि सारेका थिए ।
स्याटेलाइटको अध्ययनका लागि बनाइएको बर्गाकारको सस्तोक्यूवको मूल्या प्रतिवटा ७५ हजार पर्ने वमले बताए । तालिमको अन्तिम दिन शनिबार क्यान स्याटबाट सस्तोक्यूवको डमी हावामा उडाइएको छ ।
घोक्ने शिक्षाको सट्टा प्राक्टिकल शिक्षाको अभ्यास गर्दै र गराउँदै आएको शुभद्रा मदन फाउण्डेसनले विद्यार्थीको अध्ययन गर्ने क्षेत्रलाई बृहत बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ स्याटेलाइट सम्वन्धी तालिकाको आयोजना गरेको हो । स्याटेलाइट सम्वन्धी कक्षामा विद्यार्थीले रुचीकासाथ सहभागीता जनाएको शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए ।