बुधवार, आषाढ २३ २०७८
नेपाल वाइड
खोटाङ । असार २३, मासिक बचत गर्दैआएका आमा समुहलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बिउ पुँजी रकम उपलव्ध गराएको छ । हालसम्म मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै ऋण लगानी गरिरहेका १५ वटा आमा समुहलाई नगरपालिकाले प्रतिसमुह १ लाखका दरले बीउ पुँजी रकम उपलव्ध गराएको हो ।
नियमित बचत गर्दै आएका आमा समुहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ पछि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् ।
आमा समुहलाई आर्थिक वर्ष २०७७/०७८ मा महिला लक्ष्यीत कार्यक्रम अन्तरगत विनियोजित १५ लाख वजेटबाट बीउ पुँजी रकम उपलव्ध गराइएको हो । ११ वडा रहेको नगरपालिकामा हाल १०५ वटा आमा समुह छन् ।
त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समुहलाई छनौट गरेर बीउ पुँजी रकम प्रदान गरिएको हो ।
नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि आमा समुहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समुहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समुहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गरिने छ ।
समुहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने उपमेयर राईले बताईन् । ‘नगरपालिकामा क्रियासिल आमा समुहले मासिक वचत गर्दैआएका छन् ।
तर, उनीहरुले उत्पादनमुलक क्षेत्रमा ऋण लिनेदिने गरिरहेका छैनन् । आम्दानीविनाको वचत भइरहेको छ,’ उपमेयर राईले भनिन्, ‘आगामी दिनमा आमा समुहले ऋण प्रवाह गर्छ, त्यो ऋणबाट बाख्रा, बंगुर पालन वा तरकारी खेती गरेर ९ देखि १२ महिनाभित्र त्यही आम्दानीबाट ऋण चुक्ता गर्नुपर्ने हुन्छ । त्यसको नगरपालिकाबाट अनुगमन गर्ने व्यवस्था गरेका छौँ ।’
नगरपालिकाका गठित आमा समुहले ३५ हजारदेखि ३/४ लाखसम्म स्वःत स्फुर्त रुपमा बचत गरिसकेका छन् । महंगो व्याजदर भएकाले कतिपय ऋणीलाई निर्धारित समयमा ऋण वा व्याज फिर्ता गर्न समस्या हुने गरेको छ । आगामी दिनमा आमा समुहले ऋण लगानी गर्दा बैंकको व्याजदरभन्दा बढि व्याज लिन पाउने छैनन् ।
‘हालसम्म विना उद्धेश्य वा बचतका लागि बचत मात्र गरिरहेका आमा समुहको पुँजी वृद्धि गर्दै व्यवसायीक कामका लागि ऋण प्रवाह गर्ने/गराउने र आयआर्जनमा टेवा पुर्याएर उपलव्धीमुलक बनाउने हाम्रो लक्ष्य हो,’ उपमेयर राईले भनिन्, ‘अव मासिक बैठक हुन्छ, भेला हुन्छ । त्यसका माध्यमबाट महिलाको सशक्तीकरणमा पनि टेवा पुर्याउने नगरपालिकाको योजना छ ।’ नगरपालिकाले आगामी आर्थिक वर्षको बीउ पुँजी घुम्ती कोषका लागि पनि ३० लाख विनियोजन गरेको जनाएको छ ।