मंगलवार, आषाढ २२ २०७८
नेपाल वाइड
विराटनगर । प्रदेशसभा सदस्यले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अम्बिरबाबु गुरुङले दिएको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइने भएपछि प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक सञ्चालन भएको छ ।
नेकपा (माओवादी केन्द्र)ले चारवटा बैठक अवरुद्ध गरेपछि मन्त्रालयगत रुपमा विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफल हुन सकेको थिएन । आज मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइने सहमतिपछि बैठक सञ्चालन भएको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको बैठक सुरु हुनासाथ मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिए ।
प्रदेशसभाको १२औँ बैठकको क्रममा सभामुखले भौतिक पूर्वाधार विकासमन्त्री गुरुङको उक्त अभिव्यक्ति हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । माओवादीका प्रदेशसभा सदस्य मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित बजेट तथा कार्यक्रममाथि प्रश्न उठाएका थिए ।