सोमवार, आषाढ २१ २०७८
नेपाल वाइड
खोटाङ । असार २१, खोटाङमा समय अगावै सुत्केरी व्याथा लागेकी महिलालाई हेलीकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ । सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा ३२ हप्तामै सुत्केरी व्याथा लागेकी साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङकी २५ वर्षीय सरस्वती कट्वाललाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी हेलीकोप्टरमार्फत उद्धार गरिएको हो ।
जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भए लगत्तै कट्वालको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरेर काठ्माण्डौं पठाइएको हो ।
जिल्लामा उपचार हुन नसकेको र गम्भीर स्वास्थ्य समस्या निम्तिने खतरा देखिएको भन्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबार, काठ्माण्डौंलाई आग्रह गरेर सुत्केरी व्याथा लागेको महिलाको उद्धारका लागि हेलीकोप्टर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सामान्यतः नौ महिना नपुग्दै जन्मिएका नवजात शिशुको फोक्सो परिपक्व भइसकेको नहुने र एनआइसियूमा राख्नुपर्ने हुनाले कट्वाललाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर काठ्माण्डौं पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बैभव मल्लिकले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत हालसम्म जिल्लाका १० महिलाको उद्धार गरिएको श्रोतले जनाएको छ ।