शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
खोटाङ । असार १९, खोटाङको दिक्तेलमा स्थापित होण्डा मोटरसाइकल तथा स्कुटीको आधिकारिक विक्रेता कम्पनीले सहकारी संस्थासँग सवारी कर्जा सम्झौता गरेको छ । केही समयअघि दिक्तेलमा स्थापना गरिएको होण्डा मोटरसाइकल तथा स्कुटीको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेज प्रालिले दिक्तेलमै सञ्चालित शुभलाभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सवारी कर्जा सम्झौता गरेको हो ।
ग्राहकलाई सहकारीको ऋण नीतिको अधिनमा रहेर मोटरसाइकल तथा स्कुटर खरिद गर्नका लागि हायर पर्चेज ऋण लगानी गर्नेगरी इकिमा इन्टरप्राइजेज प्रालिका प्रोपाइटर किरणजित राई र शुभलाभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हिराकाजी सैंजूबिचमा एक वर्षे सवारी कर्जा सम्झौता भएको हो ।
इकिमा इन्टरप्राइजेज र सहकारीबिचमा ऋण लगानी गर्दा प्रमाणित मूल्यासूचीको ५० प्रतिशत वा २ लाख ५० हजारमा जुन रकम कमी हुन आउँछ सो रकमलाई आधार मानी लगानी गर्ने सम्झौता छ ।
१३ बुँदे सम्झौतामा दोश्रो पक्ष (इकिमा इन्टरप्राइजेज)ले प्रथम पक्ष (सहकारी)लाई आफ्नो प्रमाणित मूल्यासूची उपलव्ध गराउने, दोश्रो पक्षले विक्री गरिने सवारी साधनको एक वर्षको सम्पूर्ण पक्षको विमा गराउनुपर्ने, प्रथम पक्षले दोश्रो पक्षको ग्राहकलाई कर्जा लगानी गर्दा वढीमा एक वर्षको मासिक वा त्रैमासिक किस्तावन्दीरुपमा असुली गर्ने, कर्जा सुरक्षणवापत प्रथम पक्षले ग्राहकको चल अचल सम्पत्ती समेत धितो बन्ध राख्न सक्ने उल्लेख छ ।

यस्तै, कर्जा लगानी गर्दा प्रथम पक्षको कर्जा नीति अनुसारको व्याजदर तथा सेवा शुल्क लिने, ग्राहकले तोकेको समयमा किस्ता नबुझाएमा प्रथम पक्षले दोश्रो पक्षलाई कर्जा असुली प्रकृयाको लागि जानकारी गराउने, दोश्रो किस्तासम्म कर्जा असुली नभएमा सहकारीको कर्जा असुली नीति अनुसार कर्जा असुली प्रकृयाको लागि दोश्रो पक्षलाई जानकारी गराउने, यदि कर्जा असुली प्रकृयाको लागि ग्राहकको सवारी साधन जफत तथा पुःन विक्री गर्नुपर्ने अवस्था भएमा सो कार्य दोश्रो पक्षले गर्ने, त्यसरी जफत भएको सवारी साधनको पुःन विक्री गर्दाको मूल्या निर्धारण गर्दा भने असुल हुनुपर्ने कर्जा रकमभन्दा कमी हुन नहुने, दोश्रो पक्षका ग्राहकले खरिद गरेको सवारी साधन कर्जा चुक्ता नहुँदासम्म प्रथम पक्षको नाममा हुने भनिएको छ ।
यस्तै, कर्जा चुक्ता भैसकेपछि भने प्रथम पक्षले सम्वन्धित व्यक्तिको नाममा सवारी साधन नामसारी गरिदिने, सो वापत लाग्ने सम्पूर्ण खर्च ग्राहकले व्यहोर्नु पर्ने, दोश्रो पक्षले प्रथम पक्षबाट कर्जा लिइ खरिद गरिएको सवारी साधन सर्भिसिङ गर्न आएको समयमा प्रथम पक्षलाई बुझाउनुपर्ने नियमित किस्ता बुझाए/नबुझाएको जानकारी लिनुपर्ने, यदि नियमित किस्ता नतिरेको भए सो किस्तावापतको बाँकी रकम प्रथम पक्षलाई भुक्तानी नगरेसम्मका लागि सवारी साधन सर्भिसिङ गरी ग्राहकलाई रोकी राख्ने र किस्ता बुझाएपछि मात्र ग्राहकलाई सवारी साधन दिने व्यवस्था गरिएको इकिमा इन्टरप्राइजेज प्रालिले जनाएको छ ।
यस्तै, कर्जा लगानी गर्ने वा नगर्ने भन्ने सम्वन्धमा सम्पूर्ण अधिकार प्रथम पक्षमा हुने, कर्जा लगानी गर्दा सम्पूर्ण कागजात प्राप्त भएको ३ देखि ५ दिनभित्र प्रथम पक्षले काम गर्ने, यदी कर्जा लगानी नहुने भएमा सो को जानकारी सम्पूर्ण कागजात प्राप्त भएको २ दिनभित्र प्रथम पक्षले जानकारी गराउने लगायतका सम्झौता गरिएको छ ।