शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
खोटाङ । असार १९, सत्तासिन दल निकट विद्यार्थी संगठनले खोटाङमा सरकार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासन विरुद्ध तथा संसद पुःर्नस्थापनाको माग गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तीकारी, समाजवादी विद्यार्थी यूनियन र अनेरास्ववियु (नेपाल समुह)ले शनिबार साँझ दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
असार १६ गते दिक्तेलको किरातचोक (रत्नपार्क)मा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको चार विद्यार्थी संगठनले पुःन दिक्तेलको भवनगैराबाट त्रिबेणीचौकसम्म राँके जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुस प्रदर्शनपछि त्रिबेणीचोकमा भएको कोणसभालाई समाजवादी विद्यार्थी यूनियन खोटाङका अध्यक्ष रोशन राईले सम्बोधन गर्दै प्रतिगमन विरुद्धको लडाइ जारी रहेको बताए । उनले नेपाली जनताको रगत बगाएर ल्याइएको लोकतन्त्र र संविधानलाई जोगाउनका लागि जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।
संयुक्त संघर्ष समितिले लकडाउनको अवधिको सम्पूर्ण शुल्क राज्यले वहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न र मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यस्तै, मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानूनलाई चुनौती दिने गरिएका हर्कतको विरोध गर्दै दलित आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै विद्यार्थीको संयुक्त संघर्ष समितिले कोभिड–१९ को महामारीको विकल्प खोप भएको हुँदा आम नागरिकलाई खोप व्यवस्था गर्न, विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न माग गरेका छन् ।
विद्यार्थी संगठनले महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मुल्यवृद्धि, आकाशिएको महंगी, कालाबजारी नियन्त्रण गर्न तथा कोभिड विरुद्धको खोप एवं स्वास्थ्य सामग्री खरिदमा भएको चरम भ्रष्टाचारप्रति राज्यले साँधेको मौनताको भत्र्सना गर्दै जनताप्रति जवाफदेही र उत्तरदायी भूमीका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।