मंगलवार, आषाढ १५ २०७८
नेपाल वाइड
विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । नेकपा (माओवादी केन्द्र)को अवरोधपछि प्रदेशसभा बैठक यही असार २० गतेसम्मको लागि स्थगित गरिएको छ ।
भौतिक पूर्वाधारमन्त्री अम्मिरबाबु गुरुङले सदनसमक्ष माफी माग्नुपर्ने र माओवादी सांसद मोहन खड्कालाई रोस्ट्रमबाटै ‘भिजन नभएको नेता’ भनी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै माओवादीका सांसदले प्रदेशसभा अवरुद्ध गर्दै आएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफलपछि जवाफ दिने क्रममा मन्त्री गुरुङ व्यक्तिगत आक्षेपमा उत्रिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको अवरोधपछि मंगलबार तीन मिनेट मात्र बैठक बसेर स्थगित गरिएको हो ।
आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।