Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बजेट

    दिक्तेल रुपाकोट मझुवागढी : बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान

    दिक्तेल रुपाकोट मझुवागढी : बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान


    • शनिवार, आषाढ १२ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी  :  बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान
    नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल।

    खोटाङ । असार १२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँझो जमिनमा खेती गर्ने कृषकलाई नगद अनुदान उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । असार १० गते आयोजित नगरसभाले नगरको ‘बाँझो जमिन उपयोग कार्यविधि’ बमोजिम खेतीयोग्य बाँझो जमिनमा खेती गर्ने किसानको प्रोत्साहनमा नीति तथा कार्यक्रम ल्याएको हो ।

    खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि बाँझो जमिनमा खाद्यान्न बाली लगाए वापत प्रतिरोपनी १ हजार ५००, फलफूल खेती गरे वापत २ हजार ५००, मसलाबाली खेती गरे वापत २ हजार ५००, तरकारी खेती गरेवापत ५ हजार नगद अनुदान उपलब्ध गराइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    १५ वडा रहेको नगरपालिकाले वर्षौँदेखि कृषि पेशामा आवद्ध किसनको सम्मानमा ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम अवलम्बन गर्ने भएको छ । खाद्यान्न बालीको उत्पादनमा आबद्ध कृषकको प्रोत्साहनका लागि आगामी आर्थिक वर्ष ७० मुरी धान, ८० मुरी मकै तथा ८० मुरी आलु उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने नीति तथा कार्यक्रम ल्याएको हो ।

    नगरको नीति तथा कार्यक्रममा ‘प्राङ्गारिक नगर हाम्रो अभियान’लाई प्रोत्साहन गर्न जैविक मल उत्पादन र गोठसुधार कार्यक्रममा अनुदानको व्यवस्था गर्ने, बन्यजन्तुबाट कृषकले व्यहोर्नु परेको हैरानीलाई मध्यनजर गरी बाँदर नियन्त्रण तथा व्यवस्थापनको उचित बिधि तथा प्रबिधी खोजी गरी व्यवस्थापनका लागि पहल गर्ने लगायत उल्लेख छ ।

    यस्तै, नगरपालिकाले नगरभित्रका कृषि विषय अध्यापन गराउने विद्यालयमा अध्ययन गरी सोही विषयमा उच्चा शिक्षा हासिल गर्न चाहने ३ जना छात्रा/छात्रलाई वार्षिक छात्रबृत्तिको व्यवस्था गर्ने भएको छ ।

    कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन र त्रिभुवन विश्व विद्यालय अन्तर्गत ईन्स्टिच्यूट अफ एग्रिकल्चर एण्ड एनिमल साईन्ससँग एमओयू गरेर योग्यताक्रमका आधारमा तीन जनालाई वार्षिक छात्रवृत्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

    किसान सूचीकरण सुरुवात गरी डिजिटल किसान परिचयपत्र वितरण गर्ने, कृषि तथ्यांक संकलन कार्यक्रम कार्यान्वयनमा ल्याउने, प्राकृतिक विपत्तिबाट कृषि बालीनालीमा हुने क्षतिको सम्बोधन गर्न कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राख्दै वडा स्तरीय घुम्ती अभियान संचालन गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार