Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बजेट

    खोटाङका आठ स्थानीय तहले ल्यायो बजेट, हेर्नुहोस बजेट विवरणसहित

    खोटाङका आठ स्थानीय तहले ल्यायो बजेट, हेर्नुहोस बजेट विवरणसहित


    • शुक्रवार, आषाढ ११ २०७८

    • नेपाल वाइड


    खोटाङका आठ स्थानीय तहले ल्यायो बजेट,  हेर्नुहोस बजेट विवरणसहित
    खोटाङ

    खोटाङ । असार ११, खोटाङका १० स्थानीय तहमध्ये ८ स्थानीय तहले बजेट ल्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले निर्धारित मितिमै बजेट ल्याएको हो ।

    स्थानीय तहमा पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले संघीय सरकार, प्रदेश सरकार तथा आफ्नै आन्तरिक श्रोतबाट आफ्नो अन्तिम कार्यकालको बजेट ल्याएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरसभामा अनुमानित ८५ करोड ८ लाख ६२ हजार बराबरको वजेट पेश गरेको छ । कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान जस्ता तोकिएरै आएका बजेट बाहेक बाँकी रहेको ३० करोड ६५ लाख ७० हजारको सिमामा रहेर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ब्रेकडाउन गरेको छ ।

    नगरपालिकाले बाँड्न मिल्ने बजेटमध्येबाट चालु खर्चतर्फ १५ करोड १३ लाख ३८ हजार र पुँजीगततर्फ १५ करोड ५२ लाख ३२ हजार विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये १५ वडालाई ४ करोड ५ लाख बजेट दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा सर्तसहितको अर्थात तोकिएरै ५४ करोड ४२ लाख ९२ हजार बजेट आएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ५५० रुपैयाँ बराबरको बजेट ल्याएको छ । सो नगरपालिकाले चालु खर्चतर्फ ३५ करोड ३० लाख ३२ हजार र पुँजीगततर्फ २२ करोड ८५ लाख ९६ हजार ४५० रुपैयाँ बजेट विनियोजन गरेको छ । हलेसी तुवाचुङले सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान बाहेक १७ करोड ८९ लाख ९६ हजार ४५० रुपैयाँ बराबरको बजेट नगर तथा वडा स्तरिय योजनामा विनियोजन गरेको छ । ३६ देखि ४० लाखको सिलिङ पाएको वडालाई मागको आधारमा र आवश्यकताको आधारमा थप बजेट उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ ।

    ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ३९ लाख ८५ हजार ९६० रुपैयाँ बराबरको बजेट पेश गरेको छ । उक्त बजेटको ब्रेकडाउन असार २७ गतेको गाउँसभाबाट पारित गर्ने तयारी छ ।

    यस्तै, खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेक बाँकी रहने १९ करोड २६ लाख ८ हजार १२० मध्ये प्रशासनिक चालु खर्चमा ६ करोड ९३ लाख १४ हजार छुट्याएपछि बाँकी रहेको १० करोड २० लाख ९४ हजार १२० रुपैयाँबाट गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट तयार पारेको हो । प्रशासनिक खर्च कटाएपछि बाँकी रहेको १० करोड २० लाख ९४ हजार १२० मध्येबाट गाउँपालिका स्तरिय योजनाका लागि ५ करोड ५६ लाख ६८ हजार र नौ वडाको वडास्तरिय योजना तथा कार्यक्रमका लागि ४ करोड ६४ लाख २६ हजार विनियोजन गरिएको छ ।

    जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ बराबरको बजेट ल्याएको छ । सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान बाहेकका पुँजीगत रकमबाट चालु खर्चतर्फ ६ करोड ४९ लाख ३२ हजार ४७० विनियोजन गरेपछि बाँकी रहेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम बाँडफाँड गरेको हो ।

    गाउँसभाले गाउँपालिका स्तरिय योजनाका लागि ६ करोड ५ लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि २ करोड ७० लाख विनियोजन गरेको छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    सशर्तको बजेट बाहेक २१ करोड ९१ लाख १५ हजार ५९० रुपैयाँको परिधिमा राखेर गाउँपालिकाले योजना तथा कार्यक्रम ल्याएको हो । त्यसमध्ये चालु खर्चमा ५ करोड ६० लाख र पुँजीगततर्फ १६ करोड ३१ लाख १५ हजार ५९० रुपैयाँ विनियोजन गरेको छ । दिप्रुङले सिलिङ विनै वडाको योजनामा बजेट दिएको छ । वडाले छानेको योजनामार्फत वडामा कम्तीमा ३६ देखि ४५ लाख बजेट पुगेको गाउँपालिकाले जनाएको छ ।

    यस्तै, साकेला गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि अनुमानित ३२ करोड २३ लाख ९० हजार ७३० रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेटको सशर्त अनुदान, विशेष अनुदान, समपुरक बाहेकका बजेटबाट प्रशासनिक खर्च (चालु) तर्फ ५ करोड ६ लाख ५ हजार ७३० रुपैयाँ विनियोजन गरेपछि बाँकी रहेको ८ करोड ३४ लाख ६ हजारको सिमांकनमा रहेर बजेट बनाएको गाउँपालिकाले जनाएको छ । ५ वडा रहेको गाउँपालिकाले यस वर्ष वडामा सिलिङ नपठाइ मागका आधारमा बजेट पठाएको जनाएको छ । रावाबेँसी गाउँपालिकाले ३६ करोड ४५ लाख ३५ हजारको बजेट ल्याएको छ ।

    कोभिड–१९ को महामारीका कारण केपिलासगढी गाउँपालिकाले असार १४ गते गाउँसभाको तयारी गरेको छ । बराहपोखरी गाउँपालिकाले पनि केही दिनपछि गाउँसभाको तयारी गरेको छ ।

    सम्बन्धित समाचार