शुक्रवार, आषाढ ११ २०७८
नेपाल वाइड
खोटाङ । असार ११, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई वडा बिभाजनका लागि प्रस्ताव पेश भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बिहिबारको गाउँसभामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि प्रस्ताव पेश भएको हो ।
बतासेलाई बिभाजन गर्नका लागि सोही वडाका वडाध्यक्ष लोकेन्द्र राई र टेम्मा बिभाजनका लागि कार्यपालिका सदस्य चन्द्रकला राईले गाउँसभामा प्रस्ताव पेश गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्था अनुसार बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको छ ।
यस्तै, साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेश भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
वडाको संख्या वा सीमामा हेरफेर गर्न आवश्यक भएमा गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने व्यवस्था छ । प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्ताव बमोजिम वडाको संख्या वा सीमाना हेरफेर गर्ने व्यवस्था छ ।