मंगलवार, आषाढ ८ २०७८
नेपाल वाइड
काठमाडौँ । सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।
मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो । अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।
काठमाडौँ-इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ-कुवेतमा साताको दुई, काठमाडौँ-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ ।