शनिवार, आषाढ ५ २०७८
नेपाल वाइड
खोटाङ । असार ५, ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने संख्या वृद्धि भएको छ ।
बालिकामैत्री नगरपालिका बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि स्वास्थ्य संस्थामा गएर नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने संख्या बृद्धि भएको हो ।
‘बालिका बचत’ कार्यक्रम अन्तरगत नगरपालिकाले गत साउन १ गतेदेखि यता जन्मिएका हरेक छोरीको नाममा खाता खोल्ने र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरेर सहयोग उपलव्ध गराउने व्यवस्था गरेको छ ।
‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ ।
‘बालिका बचत’ कार्यक्रमको प्रभाव स्वरुप हाल नगरपालिकामा गत साउनदेखि जेठसम्ममा ९० प्रतिशत गर्भवतीले नगरपालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्रका स्वास्थ्य संस्था गएर बच्चा जन्माएको उपमेयर बिमला राईले बताईन् ।
११ वडा रहेको नगरपालिकामा यसबिचमा ४८० जना बच्चा जन्मिएकामा ३२३ जना (६१ प्रतिशत) नगरभित्रकै बर्थिङ सेन्टरमा र १५७ जना (२९ प्रतिशत) भने रेफर भएर विभिन्न अस्पतालमा जन्मिएका छन् । १० प्रतिशत बच्चा भने घरमा वा स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटैमा जन्मिएका हुन् ।
जन्मिएकामध्ये ५२ प्रतिशत बालिका छन् । नगरपालिकामा गर्भजाँच परिक्षण दर पनि ३९ प्रतिशतबाट बढेर ६१ प्रतिशत पुगेको छ । व्यक्तिगत घट्ना दर्तामा समेत कार्यक्रमले योगदान पुर्याएको उपमेयर राईले बताईन् ।
छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गत फागुन २४ गतेबाट औपचारिक रुपमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।
दिवसको अवशरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्व जलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेकी थिईन् ।
‘बालिका बचत’ कार्यक्रम अन्तरगत आमालाई हकवाला राखेर हरेक बालिकाको नाममा सालपा विकास बैंकको हलेसी शाखामा १५ वर्षे मुद्धति खाता खोल्नुपर्ने सम्झौता छ । हालसम्म ६६ बालिकाको नाममा खाता खोलिसकिएको छ ।
असार तेश्रो साताभित्र सबै बालिकाको नाममा खाता खोलेर जनही चार हजारका दरले रकम जम्मा गरिदिने उपमेयर राईले बताईन् । खातामा रकम जम्मा गरेवापत सालपा विकास बैंकले बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउने सम्झौता छ ।
खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । छोरा र छोरीमाथिको विभेदको अन्त्य गर्दै बचत गर्ने बानीको बिकासका लागि नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने नगरपालिकाका महिला तथा बालबालिका शाखाका संयोजक इरन राईले बताईन् ।
लामो समयसम्म नगर वाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने जनाइएको छ । ‘बालिका बचत’ कार्यक्रमले समाजमा छोरीलाई हेर्ने नजरमा परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।