बिहिवार, आषाढ ३ २०७८
नेपाल वाइड
खोटाङ । असार ३, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको छ । कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्नेगरी मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको हो ।
तीन दिनमा काम सक्नेगरी राष्ट्रिय आविष्कार केन्द्रका ७ जनाको टोलीले बिहिबारदेखि मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेका छन् । जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट बिनियोजन गरिसकेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाले आफ्नै पहलमा मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेको हो ।
ऐसेलुखर्क गाउँपालिकामा खोटाङमै पहिलो मिनि–अक्सिजन प्लान्ट जडानको काम थालिएको हो । मिनि–अक्सिजन प्लान्ट जडानपछि महामारी थप जटिल बने र संक्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौलाले बताउनुभयो ।
मिनि–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन आइसोलेसनका ६ बेडमा, सामान्य वार्डका ६ बेडमा र बर्थिङ सेन्टरका १ बेडमा जडान गर्ने तयारी गरिएको छ । मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब २० लाखको दुई गाडी सामग्री ऐसेलुखर्क गाउँपालिका पु¥याइएको छ ।