बिहिवार, आषाढ ३ २०७८
नेपाल वाइड
खोटाङ । असार ३, खोटेहाङ गाउँपालिकाले आगामी असार ११ गतेसम्मका लागि औषधि पसल बाहेकका पसल, संघसंस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेष्टुराँ एवं गेष्टहाउस बन्द गरेको छ ।
स्थानीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिकाले यस अघिदेखि नै लागू हुँदै आएको निर्णयलाई असार ११ गतेसम्मका लागि लम्व्याएको हो ।
गाउँपालिकाले सो अवधिमा हाटबजार/मेला, सामाजिक तथा साँस्कृतिक पर्व, भोजभतेर, पुजाआजा, विवाह, ब्रतबन्ध, पास्नी लगायतका भिडभाड हुने सबै प्रकारका क्रियाकलाप बन्द गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी चालक र सह–चालक मात्र सवार हुनेगरी निर्माण सामग्री, खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्ने निर्णयलाई निरन्तरता दिएको छ ।
यस्तै, अत्यावश्यक अवस्थामा बाहेक सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गर्ने, बाह्य हिँडडुल तथा आवत जावत बन्द गर्ने, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क, सेनीटाइजर तथा सावुन पानी जस्ता स्वास्थ्य सुरक्षाको उपाय अलवम्बन गर्ने, वित्तीय संघसंस्था तथा सहकारीबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आर्थिक क्रियाकलाप गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
खोटेहाङ गाउँपालिकाले पहिलाको तुलनामा हाल सेवा प्रवाह केही खुकुलो पारेको छ । यसअघि जेठ ३१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको गाउँपालिकाले त्यस यता स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सबै प्रकारका सेवा सुचारु गराएको जनाएको छ ।