सोमवार, जेठ ३१ २०७८
नेपाल वाइड
खोटाङ । जेठ ३१, जनता समाजबादी पार्टी खोटाङले कोरोना संक्रमणबाट आफ्नो पार्टीका नेताको निधन भएकोमा दुःख व्यक्त गरेको छ । जनता समाजवादी पार्टीका नेता ४० वर्षीय मोहनप्रसाद राईको कोभिड–१९ को संक्रमणबाट निधन भएकामा जनता समाजबादी पार्टी जिल्ला समितिले विज्ञाप्तीमार्फत दुःख व्यक्त गरेको हो ।
जसपाका जिल्ला अध्यक्ष टंक थापाले सोमबार जारी गरेको विज्ञाप्तीमा पार्टीको स्थापना कालदेखि हालसम्म निरन्तर निष्ठापुर्वक पार्टी निर्माण र विस्तारमा लागेका राईको निधनले पार्टीलाई अपूरणीय क्षती भएको उल्लेख छ । ‘उहाँले खोटाङ तथा राष्ट्रिय राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमीका निर्वाह गरिरहनु भएको थियो ।
उहाँको निधनले पार्टीमा अपूरणीय क्षती पुगेको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस दुःखद घडीमा पार्टीकोतर्फबाट शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
उहाँले देखाउनु भएको निष्ठा र मूल्या मान्यताको राजनीतिक यात्रामा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।’ खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो ।
तत्कालिन संघीय समाजवादी पार्टीका संस्थापक, जनता समाजवादीका वर्तमान केन्द्रीय सूचना, प्रचार–प्रसार तथा प्रकाशन विभाग सदस्य, केन्द्रीय निर्वाचन समिति सदस्य रहेका राई पेशाले आइटी इन्जिनियर थिए ।
किरात राई युवा संघको पुर्व केन्द्रिय अध्यक्ष राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीकातर्फबाट बराहपोखरी गाउँपालिका अध्यक्ष पदमा उठेका थिए । राईका श्रीमती र एक सन्तान छन् ।