बिहिवार, जेठ २७ २०७८
नेपाल वाइड
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । मुख्यमन्त्री गुरुङले शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेलाई डाकिएको छ ।
साथ प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यो सँगै मुख्यमन्त्री गुरूङलाई विश्वासको मत प्राप्त नहुने सम्भावना बढेको छ । मनाङेलाई आफ्नो पक्षमा राखिरहन १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए ।
संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले उनलाई दोहोर्याएका थिए । तर मनाङे अन्तिम समयमा मुख्यमन्त्री गुरूङ कै विपक्षमा उभिएका छन् । बुधबार मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका मनाङेले प्रदेशसभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनमा लागेको जनाएका छन् ।
विपक्षीलाई राहत मनाङेले कित्ता परिवर्तन गरेसँगै अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।
विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । गत वैशाख १३ गते शुरू भएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो ।