Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना जित्ने जनप्रतिनिधिको अनुभव : तातो झोलिलो खानेकुरा फाइदाजनक

    कोरोना जित्ने जनप्रतिनिधिको अनुभव : तातो झोलिलो खानेकुरा फाइदाजनक


    • आइतवार, जेठ २३ २०७८

    • नेपाल वाइड


    कोरोना जित्ने जनप्रतिनिधिको अनुभव :  तातो झोलिलो खानेकुरा फाइदाजनक
    रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला (वाँया) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई (दाँया)

    खोटाङ । जेठ २३, छिमेकी पालिकामा कोभिड–१९ को संक्रमण दिनानुदिन फैलिरहेको थियो । अन्य पालिकामा संक्रमित भेटिन थाले लगत्तै संक्रमण फैलिन नदिन खोटाङको रावाबेँसी गाउँपालिकाको सिमा नाका सिल गरियो ।

    सो गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला कोभिड–१९ बाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने, आवत–जावत बन्द गर्ने, एन्टीजेन परीक्षण गर्ने लगायतका महामारी विरुद्धका अभियानमा कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित निस्किए । कोभिड–१९ बाट ‘अरुलाई बच्नु पर्छ’ भन्दाभन्दै गाउँपालिका अध्यक्ष नै संक्रमित हुन पुगे ।

    ज्वरो आउने, खोकी लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएपछि एन्टीजेन परीक्षण गर्दा अध्यक्ष निरौला पनि संक्रमणबाट अछुतो रहेनन् । गत जेठ ६ गते संक्रमण पूष्टि भएका अध्यक्ष निरौला करिब दुई हप्तामा कोभिड–१९ लाई पराजित गरेर नियमित काममा फर्किसकेका छन् ।

    संक्रमण पूष्टि भएपछि होम आइसोलेसनमा बसेका अध्यक्ष निरौलाको जेठ १८ गते गरिएको एन्टीजेन परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । परिवारमा अध्यक्ष निरौला सहित चार जना संक्रमित भएका थिए ।

    गाउँपालिका अध्यक्ष निरौलाको अनुभवमा संक्रमण पूष्टि भएपछि भोक लाग्न छाड्यो । खान मन नलाग्ने, खाएको खानाको स्वाद केही थाहा नहुने, उल्टी आउन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता समस्या देखा पर्‍यो ।

    थोरै चिसो पानी मुखमा पर्‍यो भने पनि टन्सिल हुन खोज्ने शारीरिक समस्या निम्तियो । कोभिड–१९ को संक्रमणबाट मुक्त हुनका लागि के–के विधि अपनाउनु भयो त ? ‘नियमित तातो पानी पिउने नै रहेछ ।

    धेरै झोलिलो खानेकुरा खाइरहनु पर्छ । मुख कुल्ला गर्दा पनि तातो पानी प्रयोग गर्नु पर्छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘यो बेला साविकको भन्दा बढि झोलिलो खानेकुरा बढि खान पर्दो रहेछ ।

    दिनमा पाँच/छ लिटर तातो पानी पिएँ । भोक लाग्न थालेपछि मात्र रोगले छाडेको अनुभुती हुँदो रहेछ ।’ संक्रमणमुक्त बनेपनि रोगले शरीर शिथिल बनाएको छ । श्वास बढेजस्तो हुने समस्या देखियो । खानपानमा अझै पनि ख्याल गर्नुपर्ने अवस्था रहेको अध्यक्ष निरौला बताउँछन् ।

    असपतालको सट्टा घरमा बस्दा पनि उनलाई संक्रमणमुक्त बन्न सहज भयो । साथीभाई छरछिमेकले बोलाइ रहने, हाइहेल्लो गर्ने, स्वास्थ्य लाभको कामना गर्ने गर्दा पनि मनोवल बढाउन वल पुग्यो ।

    आफै संक्रमित हुँदा पनि गाउँपालिकाको कामकाजकाक्रममा गर्नुपर्ने फोन सम्पर्कले ‘बिरामी छु’ भन्ने अनुभूती नै नभएको अध्यक्ष निरौला बताउँछन् । ‘अस्पतालमा अरु बिरामी देखिन्छ । आफु अस्पताल पुगेको फेसबुकमा आउँछ । त्यसले हामी हतोत्साहित हुँदा रहेछौँ । होमआइसोलेसनमा बस्दा फोनमार्फत गाउँपालिकाकै काममा अलमल भयो ।

    आज स्वास्थ्यकर्मी फलानो ठाउँमा जाने, सुरक्षाकर्मीले के गर्दैछ ? आज गाडी खोल्ने की नखोल्ने ? यस्ता कुराले अलमलायो । नकरात्मक कुरा मात्रै नसोचेर सकरात्मक कुरा भइरहने वातावरण बन्यो,’ अध्यक्ष निरौलाले भने, ‘मोवाईल मात्र कोट्याएर बस्यौं भने पनि चिन्तित हुने रहेछौँ ।

    साथीभाईसँग हाइहेल्लो गर्ने, फोनबाटै काम लगाएको लगायै । म बिरामी छु भनेर बसिन, फोनबाटै जहिल्यै काममा तैनाथ रहेँ । त्यसबाट पनि मलाई बिरामी छु जस्तो अनुभुती भएन । धेरै कामकै तनाव लिइराखियो । बिरामी छु भनेर तनाव लिन नहुने रहेछ ।’

    यस्तै, जनप्रतिनिधिका नाताले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडाबासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै खटिइरहेका थिए ।

    सकेसम्म आफ्नो ‘वडाबासीलाई संक्रमणले छुन नसकुन्’ भन्ने उनको धेय थियो । तर, महामारीका अगाडि कसैको केही चलेन । भटाभट आफ्नै वडाबासीलाई संक्रमण देखिन थाल्यो । महामारीका रुपमा फैलिरहेको संक्रमणबाट सावधानी अपनाउँदा अपनाउँदै वडाध्यक्ष राई पनि अछुतो रहन सकेनन् । अरुलाई ‘बचौं र बचाऔं’ भन्दाभन्दै आफै असुरक्षित बन्न पुगे ।

    स्वास्थ्यमा सामान्य कोभिड–१९ सँग मिल्दो जुल्दो समस्या देखिएपछि परीक्षण गर्दा बैसाख २६ गते वडाध्यक्ष राईलाई पनि संक्रमण पूष्टि भयो । बालबच्चालाई अलग्गै बस्न बेँसीको घर गोठमा राखे । संक्रमण पूष्टि भएपछि उनी भने स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहेर होमआइसोलेसनमा बसे ।

    स्वास्थ्यकर्मीले सिफासिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि संक्रमण मुक्त बनेका छन् । पिसिआर परीक्षण गर्दा जेठ ११ गते बेलुका नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष राईले बताए ।

    कोभिड संक्रमण भएपछि स्वभाविकरुपमा जो कोही आत्तिन सक्छन् । मानसिक रुपमा त्रास मान्न सक्छन् । तर, वडाध्यक्ष राईले उच्च मनोवलका साथ कोरोनासँग जुध्ने हिम्मत गरे । ‘म संक्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचेनन् ।

    ठचक्क हुनेगरी नशा दुख्थ्यो । बोराभित्र हालेर कुटेझैं गरी शरीर दुख्थ्यो । उस्तै गरी नाक थुनिन्थ्यो । खानामा अरुची हुन्थ्यो । तर, उनले सँधैझैँ घाँसदाउरा मेलापातको काम गरिरहे । शरीरबाट पसिना छुट्नेगरी काम गर्ने अनि नुहाउने गरे ।

    होमआइसोलेसनमा बसेकोबेला सबैभन्दा बढी तातो पानी पिएको वडाध्यक्ष राई बताउँछन् । बिहान र बेलुका बेसार मिसिएको तातो पानी पिए । अन्यबेला भने पटक–पटक अधिक मात्रामा तातो पानी मात्र पिए । तातो पानी पिउन मन नलागे चिनी, मिस्त्री वा नुन हालेर लिए ।

    कोदोको पिउन मिल्ने खोले, गहतको टर्रो झोल, गेडागुडीको झोल बनाएर खाए । ‘म बिरामी छु भन्ने त सोचिन । बरु तातो पानीचैं अधिक पिइयो । बिहान र बेलुका बेसार हालेको पानी लिएँ । खाना नरुचेको बेला खानाको सट्टा चिनी, मिस्त्री र नुन हालेको पानी पिएँ,’ वडाध्यक्ष राईले भने, ‘गहतको टर्रो झोल, कोदोको खोले र गेडागुडीको झोल बनाएर पनि खाएँ । पसिना आउनेगरी काम गरिरहेँ । पसिना छुटेपछि नुहाएँ ।’

    संक्रमण पूष्टि भएपछि वडाध्यक्ष राईले जति समस्या भएपनि दैनिक २० देखि २५ मिनेट मर्निङ वाक गरे । गन्ध थाहा नपाउने गरी थुनिएको नाकबाट मात्र श्वास फेर्ने आलमबिलोम गरे ।

    थुनिएको नाक खोल्न तातो पानी हालेर दैनिक सफा गरेको वडाध्यक्ष राई बताउँछन् । कोभिडको संक्रमणसँग जुध्नेक्रममा फोनमार्फत अन्य संक्रमितलाई आफुले अपनाइरहेको स्वास्थ्य सुरक्षा विधिका बारेमा जानकारी दिए ।

    कतिपय आफुलाई काम लाग्ने उपचार विधि फोनबाटै अरुबाट लेनलेन गरे । आफ्नो अनुभव सुनेपछि गाउँकै अर्का संक्रमित दाउरा काट्न जंगल गएको, पसिना आएपछि नुहाएको र शरीरमा स्फुर्ति आएको सुनाएको वडाध्यक्ष राईले बताउँछन् ।

    सम्बन्धित समाचार