बिहिवार, जेठ २० २०७८
नेपाल वाइड
खोटाङ । जेठ २०, खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेव निर्मला शर्माले व्यक्तिगत खर्चमा कोभिड–१९ बाट संक्रमितलाई औषधि तथा मास्क वितरण गरेकी छन् ।
एन्टीजेन परीक्षणपछि घरैमा बसिरहेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका संक्रमितलाई सिनियर अहेव शर्माले बुधबार घर–घरमा पुगेर भिटामिन, सिटामोल जस्ता औषधिका साथमा मास्क वितरण गरेकी हुन् ।
एन्टीजेन परीक्षणका क्रममा संक्रमण पूष्टि भएपनि औषधि एबं स्वास्थ्य सुरक्षाका सामग्री नपाएको गुनासो गरिरहेको अवस्थामा व्यक्तिगत खर्चमा औषधि र मास्क वितरण गरेको सिनियर अहेव शर्माले बताईन् ।
सिनियर अहेव शर्माले संक्रमितको स्वास्थ्य जाँच गर्दै आवश्यक परामर्श प्रदान गरेकी छन् । स्वास्थ्य परीक्षणका क्रममा दुई जनाको अक्सिजनको मात्रा कम भएको पाइएको छ । ज्यामिरेका ४८ जनाको एन्टीजेन परीक्षण गर्दा २१ जनालाई संक्रमण पूष्टि भएको हो ।
सो स्थानमा कोभिड–१९ को लक्षण भएका अन्य बिरामी बढेकाले थप एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको छ । आवश्यक स्वास्थ्य परामर्शको अभावमा हाल ज्यामिरेमा संक्रमित व्यक्ति पनि परिवारसँगै घुलमेल भएर बसिरहेको पाइएको सिनियर अहेव शर्माले बताईन् । ‘एन्टीजेन परीक्षण भयो तर संक्रमित पहिलाजस्तै परिवारमा घुलमेल भएर बसिरहेका रहेछन् ।
जसका कारण परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुने जोखिम देखिएको छ,’ शर्माले भनिन्, ‘स्वास्थ्य परामर्शको अभाव छ । स्वास्थ्य सामग्रीको अभाव छ । थोरै भए पनि स्वास्थ्य सामग्री लिएर जाँदा स्थानीय खुसी भएका छन् ।’
यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका जनप्रतिनिधिले वडाबासीलाई मास्क वितरण गरेको छ । कोभिड–१९ को संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि वडाध्यक्ष र वडासदस्यले व्यक्तिगत खर्चमा मास्क वितरण सुरु गरेको हो ।
वडाका ४३५ घरधुरीका २ हजार ५८० जनालाई मास्क वितरण गरिने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । हाल वडा सदस्य र शिक्षक सम्मिलित चार समुह बनाएर बुधबारदेखि मास्क वितरण सुरु गरिएको हो ।
गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाले अन्यत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने व्यवस्था मिलाइएको वडाध्यक्ष भट्टराईले बताए ।