बुधवार, जेठ १९ २०७८
नेपाल वाइड
खोटाङ । जेठ १९, खोटाङको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । संक्रमण भएको १४ दिनमा गाउँपालिका अध्यक्ष निरौलाले कोभिड–१९ को संक्रमण जितेका हुन् ।
जेठ ६ गते संक्रमण पूष्टि भएपछि होमआइसोलेसनमा बसेका अध्यक्ष निरौलाको मंगलबार गरिएको एन्टीजेन परीक्षणको रिपोर्ट नेगटिभ आएको हो । अध्यक्ष निरौला सहित परिवारका चार जनाले कोरोना जितेका छन् ।
संक्रमणमुक्त हुनका लागि दैनिक पाँच देखि छ लिटर तातो पानी पिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘दैनिक पाँचदेखि छ लिटर पानी पिइयो ।
झोलिलो खानेकुरा खाइयो,’ अध्यक्ष निरौलाले भने, ‘होमआइसोलेसनमा बस्दा अस्पताल बसेजस्तो मनमा परेन । फोनबाटै भए पनि गाउँपालिकाको काममा अलमल भइरहने भएकाले बिरामी भएको भान भएन । तनाव पनि भएन ।’
रावाबेँसी गाउँपालिकामा ८२ जना संक्रमितमध्ये हालसम्म १५ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य संयोजक राजकुमार रेग्मीले बताए ।