Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोनाको सामना ‘हटेर होईन डटेर’

    कोरोनाको सामना ‘हटेर होईन डटेर’


    • मंगलवार, जेठ १८ २०७८

    • नेपाल वाइड


    कोरोनाको सामना ‘हटेर होईन डटेर’
    संक्रमण विरुद्ध ‘हटेर होईन डटेर’ लाग्नका लागि वडासदस्य प्रकाश श्रेष्ठको स्टाटस ।

    खोटाङ । जेठ १८, सिंगो बिश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को संक्रमण दर तिव्र गतिमा फैलिरहेको छ । यही दरमा संक्रमण फैलिरहने हो भने कुनै न कुनै दिन सबै जना कोभिड–१९ को मारमा पर्ने निश्चित प्रायः छ । त्यसमाथि ‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ ।

    हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन । संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव दाहसंस्कारका क्रममा नेपाली सेनालाई अघि सार्ने गरिएको छ ।

    एकातिर कोभिड–१९ ले ज्यान लिने मनोवैज्ञानिक त्रासमा बसिरहेका संक्रमित वा उसका परिवार छरछिमेकको साथ नपाउँदा थप हतोत्साहित बन्ने अवस्था छ । खोटाङकै विभिन्न स्थानमा संक्रमण पूष्टि भएका घरमा आफन्त जान त्रास मानिरहेका छन् ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संक्रमितको नजिक गएर सान्त्वना दिने, रोगसँग जुध्नका लागि ढाडस दिने वा स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै मनोबल उच्च बनाउने खालका परामर्श दिने व्यक्तिको अभाव छ ।

    के सबै मानवको साझा समस्याका रुपमा देखा परेको कोभिड–१९ को संक्रमणबाट सँधै यसरी भागेर बाँच्न र बचाउन सम्भव छ ? ‘अव सँधै यसरी पछि हटेर महामारीको सामना गर्न सम्भव छैन ।

    सबै जना डराएपछि संक्रमितलाई कसले सहयोग गर्ने ? आफु संक्रमित भएको अवस्थामा कसले सहयोग गर्छ ?,’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठ भन्छन्, ‘कुनै न कुनै दिन सबैलाई संक्रमण हुने अवस्था आउन सक्छ ।

    त्यसका लागि हटेर होईन डटेर अघि बढौं । सामाजिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सबैलाई सहयोग गर्नुको विकल्प छैन ।’ केही समयअघि दिक्तेलमा एक संक्रमितको मृत्यु हुँदा शव उठाउन चुनौती निम्तियो ।

    दाजुभाईले दाहसंस्कार गर्ने वा नेपाली सेनालाई जिम्मा दिने भन्ने विषयमा लामै छलफल चल्यो । अन्ततः त्रासको त्यो घडीमा वडासदस्य श्रेष्ठकै अगुवाईमा नेपाली सेनाको सहयोगमा शव दाहसंस्कारमा लगिए ।

    नेपाली सेनाबाट शव घाटमा लैजाने र सलामी दिने बाहेकका अधिकांश संस्कारजन्य काम आफैले गर्नु परेको श्रेष्ठ बताउँछन् । ‘मिलीटरी पनि तीन जना मात्र खटिने व्यवस्था रहेछ । त्यो पनि सलाम हानेर फर्कियो ।

    टोलीमा जेठो म नै थिएँ । साथमा गएका भाईहरुलाई नडराउ भनेर सम्झाएँ र दाससंस्कार गर्ने काम गरियो,’ वडा सदस्य श्रेष्ठले भने, ‘कोरोनाले एक दिन सबैलाई भ्याइहाल्छ । भ्याउने भएपछि किन डराउने ! तपाई पनि डराउने, म पनि डराउने, अर्को पनि डराउने, सारा डराउने भएपछि कसले कसलाई सहयोग गर्ने टुंगो भएन नी ! त्यही भएर सुरक्षित तरिकाले साथ सहयोग लिने र दिने वातावरण बनाउन आवश्यक छ ।’

    दाहसंस्कारपछि फर्किएका वडा सदस्य श्रेष्ठले गत जेठ ८ गतेका दिन सामाजिक सञ्जालमा ‘कोरोनासँग हटेर होईन डटेर अगाडी बढौं, सामाजिक दूरी कायम राखी सवैलाई सहायोग गरौं’ लेखेका थिए ।

    हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा फैलिसकेको छ । यसबीचमा वडा कार्यालयकातर्फबाट संक्रमितलाई मास्क र सेनीटाइजर वितरणका क्रममा पनि वडा सदस्य श्रेष्ठ अघि सरे । प्रत्येक संक्रमितका घरमा पुगे, संक्रमित र उसका परिवारसँग स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भेटघाट गरे ।

    गत जेठ १० गते मात्र दिक्तेलबजारकै एक संक्रमितलाई जिल्ला अस्पतालले थप उपचारका लागि काठ्माण्डौं रेफर गर्‍यो । अस्पतालबाट हेलीकोप्टर ल्याण्ड भएको ठाउँसम्म बिरामी बोक्नका लागि पनि कतिपय स्थानीय त्रास माने । त्यो अवस्थामा वडासदस्य श्रेष्ठ पिपिइ सेट पहिरिएर बिरामी बोक्न अघि सरे ।

    ‘म एक जना मर्दा दश जनाको उद्धार हुन्छ भने म चैं तयार छु भनेर अघि सरेँ । कसैलाई संक्रमण भयो भने आफुलाई पनि समस्या पर्छ भनेर भागेर सम्भव हुन्न । मेरो घरमा परो, अर्कोको घरमा परो भनेर भाग्न हुन्न । हामी भागेर जोगिन्छौं भन्ने अवस्था देखिन्न ।

    लाग्नेलाई लाग्दै गर्छ, उपचार गर्दै जानुपर्छ भन्ने हो,’ श्रेष्ठले भने, ‘यसरी संक्रमितको उद्धारमा खट्दा आफैलाई संक्रमण भयो की भन्ने त्रास त थियो । तर, पिसिआर चेक गर्दा बिहिबार नेगेटिभ रिपोर्ट आयो । यसले झनै हौसला मिलेको छ ।’

    संक्रमण भएको अवस्थामा अथवा संक्रमणका कारण कसैको मृत्यु भएको अवस्थामा दाजुभाई, छरछिमेक र इष्टमित्रबाट मनोवल उच्च बनाइदिने भूमीका निर्वाह गर्नुपर्ने वडा सदस्य श्रेष्ठको धारणा छ । ‘सुरक्षाका मापदण्ड अपनाएर संक्रमित परिवारको नजिक जाने, के कस्तो छ भनेर सोध्न सक्नु पर्छ ।

    नजिक कोही नजाने हो भने संक्रमितको हालत कस्तो होला, मनोवल कस्तो होला,’ उनले भने, ‘त्यही भएर डराउनु भएन । संक्रमितको घरमा नछिर्ने, हेला गर्ने, मनोवल गिराइदिने काम कोहीबाट हुनुहुन्न ।’

    सम्बन्धित समाचार