बिहिवार, जेठ १३ २०७८
नेपाल वाइड
खोटाङ । जेठ १३, कोभिड–१९ को महामारीका कारण खोटाङमा किरात राई समुदायको उभौली चाड सुनसान बनेको छ । भेला भएर गरिने सामाजिक तथा साँस्कृतिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलपुजा (देवाली), साकेला लगायतका चाडपर्व नगर्न सूचना जारी गरेपछि साकेला उभौलीलाई विधि फुकाउनमै सिमित गरिएको हो ।
खोटाङमा किरात राई यायोक्खाको कार्यालयमा विधिवत सुरु गरेर सयौंका संख्यामा मझुवागढीमा पुगेर साकेलाको औपचारिक सुरुवात गर्ने परम्पराकाबीचमा बुधबार थोरै संख्याको उपस्थितिमा साकेला पूजेर उभौली सुरुवात गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताउनुभयो ।
यायोक्खा र किरात सेवा समाजको दुई समुहले यायोक्खाको प्रांगण र मझुवागढीमा पुगेर औपचारिकताका लागि साकेला पुजेका छन् । साकेला पुज्ने बाहेक भेला भएर साकेला नाचगान नगर्नका लागि मातहतका कमिटिलाई आव्हान गरिएको यायोक्खाका सचिव किरातले बताउनुभयो ।
किरात समुदायको बसोबास रहेको प्रतेक गाउँ ढोल–झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्नुपर्नेमा कोभिड–१९ का महामारीका कारण प्रायः सुनसानजस्तै बनेको छ । कोभिड–१९ को महामारीका कारण लगातार साकेला उभौली प्रभावित भएको यो दोश्रो वर्ष हो ।
बैसाख पूर्णीमाको अवशरमा सुरु भएको साकेला उभौली चाड पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ ।
राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किरात राई यायोक्खाका अध्यक्ष हात्तीराम राईले बताउनुभयो ।
साकेलाको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।