सोमवार, जेठ १० २०७८
नेपाल वाइड
खोटाङ । जेठ १०, बेलायती सेनामा कार्यरत एक व्यक्तिले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा सामुदायीक अस्पताललाई अक्सिजन सिलिण्डर जुटाइदिएका छन् ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ बेलायती सेनामा कार्यरत बिकास साम्पाङ राईले सामुदायीक अस्पताललाई ४७ लिटरको दुई थान अक्सिजन सिलिण्डर उपलव्ध गराएका हुन् । बेलायती सेनामा कार्यरत राईले काठमाण्डौं आएकोबेला दुई थान अक्सिजन सिलिण्डर जुटाएर पठाइदिएको जालपाका वडाध्यक्ष बिकास राईले बताए ।
कोभिड–१९ को संक्रमण बढिरहेकोबेला वडामा भवितव्य परे वा बिरामीको अवस्था सिरियस भएको अवस्थामा उपयोगका लागि वडा कार्यालयले अक्सिजन र एन्टीजेन किट जुटाउने अभियानका क्रममा अक्सिजन प्राप्त भएको हो । अक्सिजन सिलिण्डर काठ्माण्डौंबाट नगरपालिकाको गाडीमार्फत सामुदायीक अस्पतालमा पुर्याइएको हो ।
वडा कार्यालयले अक्सिजन, एन्टीजेन किट र पिसिआर परीक्षणका लागि आवश्यक स्वाव संकलन गर्ने भिटिएम जुटाउन अभियान सञ्चालन गरिरहेको जनाएको छ । वडाकैतर्फबाट केही दिनपछि हजार थान एन्टीजेन किट ल्याउने तयारी भइरहेको वडाध्यक्ष राईले बताए ।