Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    वाग्मतीमा राष्ट्रियसभा उपनिर्वाचन शुरू

    वाग्मतीमा राष्ट्रियसभा उपनिर्वाचन शुरू

    मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    • बिहिवार, जेठ ६ २०७८

    • नेपाल वाइड


    वाग्मतीमा राष्ट्रियसभा उपनिर्वाचन शुरू
    डा.खिमलाल देवकोटा र रामबहादुर थापा ‘बादल’

    काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू भएको छ । अपराह्न ३ बजेसम्म हुने मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

    तर धेरैजसोको चासोको केन्द्रमा भने थापा र देवकोटा छन् । पार्टीको विवाद मत्थर हुनेतर्फ अग्रसर भइरहँदा एमालेका जनप्रतिनिधिले देवकोटालाई मत दिन्छन् या थापालाई भन्ने विषय अन्योलमा छ । एमालेकै मत निर्णायक समेत रहेकाले धेरैजसोको चासोको केन्द्रमा थापा र देवकोटामा नै छ ।

    पार्टीभित्र पूरै सहमति भइ नसकेकाले एमालेको नेपाल-खनाल समूहले थापालाई मत दिने सम्भावना कम छ । तथापि यो बीचमा थापा स्वयमले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर मतका लागि अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ ।

    निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

    मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

    मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । नतिजा आजै बेलुकासम्ममा आइसक्ने जनाइएको छ ।

    सम्बन्धित समाचार