बुधवार, जेठ ५ २०७८
नेपाल वाइड
खोटाङ । जेठ ५, खोटाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत मेडिकल अधिकृत डा. जितेन्द्रप्रसाद शाहले जन्तेढुंगा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा जुधिरहेको गाउँपालिकाको सहयोगार्थ मेडिकल अधिकृत डा. शाहले व्यक्तिगत खर्चमा पिपिई सेट, फेसशिल्ड, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को महामारी बिरुद्ध स्वास्थ्यकर्मीकारुपमा गाउँपालिकासँग दिनरात ‘होस्टेमा हैंसे’ गरिरहेका मेडिकल अधिकृत शाहले मंगलबार करिब ५० हजार बराबरको स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र उपाध्यक्ष बिमला राईलाई हस्तान्तरण गरेका हुन् ।
मेडिकल अधिकृत शाहले गाउँपालिकालाई १० थान पिपिई सेट, १० थान फेसशिल्ड, २ सय थान एन ९५ मास्क, ५ सय थान सर्जिकल मास्क र १० थान सुज कभर प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक पवन पोखरेल बताए ।
मेडिकल अधिकृत शाहले महामारीमा खटिइरहेकाबेला आवश्यक स्वास्थ्य सुरक्षा सम्वन्धी सामग्रीको अभाव झेलिरहेका स्वास्थ्यकर्मी लगायतलाई उपलव्ध गराउनेगरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
मेडिकल अधिकृत शाहले प्रदान गरेको स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष राईले बुझेर पुःन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पोखरेललाई हस्तान्तरण गरेका छन् ।
प्राप्त भएको स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्धको अभियानमा अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार उपलव्ध गराइने स्वास्थ्य संयोजक पोखरेलले बताए । मेडिकल अधिकृत शाह जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गत असोजदेखि कार्यरत छन् ।