Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    विवाह र भोजभतेर संक्रमण फैलाउने कारण बन्दै

    विवाह र भोजभतेर संक्रमण फैलाउने कारण बन्दै


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    विवाह र भोजभतेर संक्रमण फैलाउने कारण बन्दै
    प्रतिकात्मक तस्बिर

    खोटाङ । जेठ ४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा केही समयअघि एउटा विवाह सम्पन्न भयो । बिश्वभर कोभिड–१९ को महामारी फैलिरहेका बेला सम्पन्न बिवाहपछि एन्टीजेन परीक्षण गर्दा सो विवाहमा सहभागी धेरैजसोमा संक्रमण देखियो । सो विवाहमा दुलही लिन तराईबाट दुलहा जन्ती लिएर आएका थिए ।

    विवाहका लागि काठ्माण्डौं लगायतका शहरमा बसोबास गरिरहेका आफन्त पनि आउने नै भए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङले सकेसम्म थोरै संख्यामा धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्नका लागि सूचना जारी गरेको केही समयपछि भएको सो विवाहमा त्यस विपरित शहर बजार र गाउँका मान्छे एक ठाउँमा भेला भए ।

    केही समयपछि एन्टीजेन परिक्षण गर्दा विवाहमा सहभागीमध्ये धेरैजसो व्यक्तिमा संक्रमण पूष्टि भएको देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘बढिजसो विवाह र भोजभतेरमा सहभागी भएका व्यक्तिलाई संक्रमण भएको देखिएको छ ।

    त्यसमा पनि १८ वर्षभन्दा माथिका र ५० वर्षभन्दा मुनिका व्यक्तिलाई संक्रमण भएको पाइएको छ,’ मेयर राईले भने, ‘पहाडका बेहुला वा बेहुली र तराईतिरका बेहुला वा बेहुली भएको अवस्थामा जोखिम बढी देखिएको छ । यही बेला शहरबाट हुने आवागमनले पनि संक्रमण फैलिन सघाउ पुर्‍याएको देखिएको छ ।’ हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या २८ नाघेको छ ।

    यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको एउटा गाउँमा ५ जनालाई संक्रमण देखियो । संक्रमित हुनेमा धेरैजसो आफ्नो गाउँभन्दा बाहिर नगएका स्थानीय छन् । ‘गाउँमा कसरी संक्रमण भित्रियो’ भन्ने विषयमा अध्ययन गर्दा इटहरीबाट आएका एक स्थानीयबाट सिंगो गाउँमा संक्रमण छिरेको अनुमान गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

    अहिले गाउँ–गाउँमा कोभिड–१९ को संक्रमण फैलिएको देखिएको छ । एन्टीजेन परिक्षण वा पिसिआर परीक्षणका क्रममा कहिल्यै गाउँ नछाडेका स्थानीय समेत कोभिड–१९ बाट आक्रान्त बनिरहेको पाइएको छ । यसले समुदायस्तरमै कोभिड–१९ फैलिसकेको पूष्टि गर्छ । स्वास्थ्य संकट निम्त्याउने संकेत गर्छ ।

    कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) र जिल्लाका १० वटै स्थानीय सरकारले स्वास्थ्य सुरक्षामा मापदण्ड पालनका लागि पटक–पटक सूचना जारी गर्दैआएको छ ।

    तर, त्यसको गम्भीरतापुवर्क पालना गरिएको छैन । थोरैभन्दा थोरै संख्यामा बिवाह, ब्रतबन्ध, भोजभतेर गर्न भनिए पनि त्यसलाई अधिकांशले बेवास्ता गरेको देखिन्छ ।

    स्वास्थ्य सुरक्षाको पालनामा भएकै बेवास्ताको कारण हाल कोभिड–१९ को संक्रमण गाउँ–गाउँमा प्रवेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल बताउँछन् । ‘जिल्ला बाहिरका जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट संक्रमण भित्रिएको देखिन्छ ।

    त्यस्तै विवाह र भोजभतेरमा जम्मा हुनेमा संक्रमण हुने दर बढी देखिएको छ,’ मेयर रिजालले भने, ‘हाम्रो नगरपालिकामा हालसम्म ५८ जनालाई संक्रमण पूष्टि भएको छ । त्यसमध्ये ७ जना निको भइसकेका छन् । ५८ जनाको हिस्ट्री अध्ययन गर्दा विवाहमा सहभागी हुनेहरुलाई नै बढी संक्रमण भएको देखिन्छ ।’

    साकेला गाउँपालिकाका २३ जना संक्रमितमध्ये २ जनाले कोरोना जितिसकेका छन् । अहिलेसम्मको संक्रमितको हिस्ट्रीका बारेमा अध्ययन गर्दा काठ्माण्डौं, चितवन जस्ता ठाउँबाट आएका व्यक्तिबाट कोभिड–१९ को संक्रमण फैलिएको पाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृन रबिन मगरले बताए ।

    ‘जिल्लाभन्दा बाहिरबाट आएका व्यक्तिबाट जोखिम देखिएको छ,’ मगरले भने, ‘व्यक्तिबाट क्रमशः उसको परिवार, छरछिमेक हुँदै समुदायमा संक्रमण फैलिएको छ । यही बेला गाउँघरमा हुने विवाहमा त्यही संक्रमित पुग्दा एकैपटकमा धेरैलाई संक्रमण फैलिरहेको पाइएको छ ।’

    सम्बन्धित समाचार