बुधवार, बैशाख २९ २०७८
नेपाल वाइड
विराटनगर । कोसी अस्पतालमा ६१ बेडसहितको नयाँ कोभिड उपचार वार्ड निर्माणले गति लिएको छ । एक साताभित्र संचालन भइसक्ने गरी अस्पतालले पूर्वाधार जडान गर्ने र थप्ने काम शुरु गरेको हो ।
विराटनगरमा कडा लक्षण भएका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप सेवा दिन कोसी अस्पतालले कोभिड वार्ड शुरु गर्न लागेको हो । अस्पताल परिसर भित्रकै भवनमा पाँचवटा भेन्टिलेटरसहितको आईसीयू, २४ बेडको एचडीयू, ३२ अक्सिजनको सहितको शैया रहने बताइएको छ ।
अस्पतलाका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले भने, “मेडिकल वार्ड र ग्राउण्ड फ्लोरको पोस्टनाटल वार्डलाई कोभिड उपचार गर्ने वार्डको रुपमा संचालन गर्न लागेका हौं ।” दासले यहाँ लक्ष्यणसहितका बिरामीलाई मात्र भर्ना गर्ने योजना रहेको सुनाए ।
दासका अनुसार मेडिकल वार्डका चार कोठामा अक्सिजनसहितका बेड राख्ने, सीसी टिभी जडान गर्ने, विद्युत् वायरिङ गर्नेलगायत काम भइरहेको छ । उपकरणहरु संघीय सरकारले पठाइदिएको र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली भने कोसी अस्पतालले नै परिचालन गर्नेछ । अस्पतालमा भइरहेको कामको निरीक्षण विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलगायत टोलीले गरेको छ ।