आइतवार, बैशाख २६ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २६, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खोटाङको रावाबेँसी गाउँपालिकाले सिमा नाका सिल गरेको छ । जिल्लाका छिमेकी पालिकामा संक्रमितको संख्या बढिरहेको अवस्थामा आइतबार बसेको स्थानीय कोरोना विपद व्यवस्थापन केन्द्रको बैठकले ७ दिन सम्मका लागि पालिका प्रवेश गर्ने नाका सिल गर्ने निर्णय गरेको हो ।
आइतबारदेखि नै लागू हुनेगरी पालिका प्रवेशमा कडाई गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जारी गरेको सूचनामा उल्लेख छ । नाका सिल गरेको अवस्थामा रातका समयमा गाडी हिँडेको पाइएमा प्रहरीलाई खबर गर्ने गाउँपालिकाले जनाएको छ ।
बैठकले आगामी जेठ ३ गतेसम्मका लागि स्वास्थ्यको आकस्मिक सेवा बाहेक सम्पूर्ण कार्य बन्द गर्ने, गाउँपालिका र वडा कार्यालयको अति जरुरी र आकस्मिक कार्य बाहेकका कार्य बन्द गर्ने, खाद्यान्न तथा इन्धन पसल दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्मका लागि खुला गर्न दिने निर्णय गरेको छ ।
यस्तै, बैसाख २७ गतेदेखि जेठ ३ गतेसम्मका लागि विद्यालय पूर्णरुपमा बन्द गर्ने, कुनै पनि चोक/चौतारामा भेला भएर गरिने कुनै पनि कार्य नगर्ने/नगराउने, पालिकाभन्दा बाहिरबाट आउने व्यक्तिले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने, भौतिक दुरी कायम गर्दै र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गाउँपालिकाभित्रका विकास निर्माणको गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
कोभिड अस्पताल, क्वारेन्टिन तथा आइसोलेसनमा राखिने सम्भावित संक्रमितको सुरक्षाको जिम्मा सुरक्षाचौकीलाई प्रदान गर्ने, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वयंसेवकलाई कोभिड–१९ विरुद्धको जनचेतनामुलक क्रियाकलाप सञ्चानका लागि परिचालन गर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा राख्ने, जेठ २ गतेदेखि हुने कक्षा १ देखि कक्षा ९ को परिक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने, सामाजिक तथा धार्मिक कार्यक्रम कम संख्याको उपस्थितिमा उच्च सतर्कताका साथ गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।