बिहिवार, बैशाख २३ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २३, कोरोना भाइरस (कोभिड–१९) को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको बराहपोखरी गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । दिनानुदिन कोभिड–१९ को महामारी बढिरहेको अवस्थामा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको हो ।
नेपाल सरकार, मन्त्रिपरिषदको गत बैसाख १३ गतेको निर्णय तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णयलाई मध्यनजर गर्दै बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले गरेको निर्णय बिहिबारदेखि कार्यान्वयनमा ल्याइएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
बराहपोखरी गाउँपालिकाले भिडभाड भएर गरिने धार्मिक, साँस्कृतिक तथा राजनैतिक कार्यक्रम गर्न प्रतिबन्ध गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाभित्र सभा, सम्मेलन, गोष्ठी, सेमिनार, उद्घाटन, चियापान, राजनैतिक दलका कार्यक्रम, मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, विवाह, व्रतबन्ध लगायत भिडभाड हुने कार्यक्रमहरु अर्को व्यवस्था नभएसम्मका लागि प्रतिवन्ध गरिएको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा गाउँपालिकाभित्रका होटल तथा पसल दैनिक बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ ।