बिहिवार, बैशाख २३ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २३, जनता समाजवादी पार्टीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लाग्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका एक बालकले अकालमा ज्यान गुमाउनु परेको भन्दै विरोध जनाएको छ । माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा बुधबार बिहान धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु हुनुमा प्राधिकरणको लापरबाही देखिएको भन्दै जनता समाजवादी पार्टी धितुङ वडा समितिले विरोध जनाएको हो ।
जनता समाजवादी पार्टी धितुङ वडा समितिका अध्यक्ष राजेश राईले प्रेस विज्ञाप्ती जारी गर्दै घट्नाको छानविन गरी दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपुर्ती उलपव्ध गराउन माग गरेका छन् ।
जनता समाजवादी पार्टीले प्राविधिकलाई सम्पर्क गर्दा समयमा आइनपुग्नु, प्राविधिकको तत्काल आवश्यकता परे सत्तापक्षका नेतालाई गुहार्नुपर्ने स्थिति आउनु, विद्युत विस्तार भएको क्षेत्रमा रुख तथा हाँगा नकाटिनु, चट्याङ तथा हावाहुरी चलिसकेपछि लाइनको अवस्थाका बारेमा चेकजाँच नगरिनु, प्राविधिकले मान्छेको औकात हेरेर काम गर्नुले प्राधिकरणको लापरबाही देखिएको जनाएको छ ।
विज्ञाप्तीमा प्राविधिकबाट भइरहेका यस्ता विकृतिको समाधानका लागि तत्काल सम्वन्धित निकाय समक्ष ध्यानाकर्षण गराइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मात्र पोलबाट कैयौंपल्ट करेन्ट लाग्दा कतिपयले ज्यान गुमाउनु परेको तथा कतिपयले अंगभंग हुनुपरेको उल्लेख गर्दै जनता समाजवादी पार्टीले नागरिकले असुक्षित महसुस गरिरहेको उल्लेख गरेको छ ।
मकै छर्नका लागि धितुङभञ्ज्याङबाट बुलाकात्तिकेस्थित ठूलीआमाको घरमा हलो लिन जाँदै गर्दा भँगेरी जंगलमा सडकको डिलमा रहेको पोलमा लिक भएको करेन्टले बालकको घट्नास्थलमै मृत्यु भएको थियो । टिकीहाङलाई करेन्ट लागेपछि उनीसँगै गएका अर्का बालकले परिवारलाई खबर गरेका थिए ।
माटी फुटेपछि तारले पोललाई छुँदा अघिल्लो रात गाउँलेले सो स्थानमा ह्वार–ह्वार्ती आगो बलेको देखेको वडाध्यक्ष पृथ्बीराज राईले बताए । तर बाईकको लाईट बालिएको आशंका गरिएको थियो । घट्नापछि मात्र विद्युतको पोलमा आगो बलेको थाहा भएको स्थानीयले बताएका छन् ।