Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आइसोलेसन सेन्टर निर्माण गर्दै खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बने ?

    आइसोलेसन सेन्टर निर्माण गर्दै खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बने ?

    इन्द्रेणीपोखरीमा स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरकारुपमा उपयोगमा ल्याउने तयारी

    • मंगलवार, बैशाख २१ २०७८

    • नेपाल वाइड


    आइसोलेसन सेन्टर निर्माण गर्दै खोटाङका स्थानीय तह, कुन स्थानिय तहमा कति बने ?
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार पारेको आइसोलेसन सेन्टर ।

    खोटाङ । बैसाख २१, कोरोना भाइरस (कोभिड–१९)का संक्रमितलाई लक्ष्यित गर्दै खोटाङका स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् ।

    कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि कतिपय स्थानीय तहले पुरानो आइसोलेसन सेन्टरलाई नै नयाँ आइसोलेसन सेन्टरकारुपमा व्यूँताएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन अनुशार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैसाख १५ गते ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

    आइसोलेसन सेन्टरका लागि १० सिलिण्डर अक्सिजन ल्याइसकिएको र थप १० थान अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्ने आइसोलेसन सेन्टर निर्माण गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्र्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्नेगरी बेड मिलाइएको छ ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले स्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरकारुपमा तयारी अवस्थामा राखेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा गत मंसिर ११ गते स्थापना गरिएको स्थायी कोभिड अस्पतालमा १० बेडको आइसोलेसन सेन्टर बनाइएको मेयर इवन राईले बताए । एमबिबिएस डाक्टर सहितको सो अस्थायी कोभिड अस्पताल संघीय सरकारले उपलव्ध गराएको १० लाख र नगरपालिकाको लगानीमा स्थापना गरिएको हो ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा बनाइएको ५ बेडको पुरानै आइसोलेसन सेन्टरलाई नयाँ आइसोलेसन सेन्टरकारुपमा उपयोग गर्ने तयारी गरेको छ । स्वास्थ्य केन्द्रमा अक्सिजन सहितकै आइसोलेसन सेन्टर व्यवस्था गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    कोभिड–१९ लाई मध्यनजर गर्दै केपिलासगढी गाउँपालिकाले बाक्सिलाबजारमा रहेको बसपार्कमा १६ बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी गरेको छ । आइसोलेसनका लागि आवश्यक अक्सिजन भने खरिद गर्न नपाइएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।

    यस्तै, खोटेहाङ गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टर बनाउने भएको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरकारुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

    जन्तेढुंगा गाउँपालिकामा भने आइसोलेसन सेन्टरका लागि उपयुक्त स्थानको अभाव भएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । यद्यपी, आवश्यक आइसोलेसनको व्यवस्थापन गरिने पोखरेलको भनाई छ ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरमा रुपान्तरण गर्ने भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित १० बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरकारुपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    बराहपोखरी गाउँपालिकामा आवश्यक आइसोलेसन सेन्टर स्थापनाका विषयमा आगामी बुधबार बैठक बोलाइएको गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताईन् ।

    यस्तै, रावाबेँसी गाउँपालिकाले २० बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण सुरु गरेको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डको हरम्टारमा साप्ताहिक हाट लाग्ने स्थानमा टिनले बारेको र टिनकै छाना हालेर आइसोलेसन सेन्टर निर्माण सुरु गरेको हो । यस्तै, शारदा माबि खार्पामा १० बेडको क्वारेन्टिन बनाउने तयारी गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

    साकेला गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दैछ । साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको ५ शैयाको अस्थायी कोभिड अस्पतालमा १५ बेड थप गरेर आइसोलेसन सेन्टर स्थापनाको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । ‘हामीसँग अस्थायी कोभिड अस्पतालमा पाँच बेडको आइसोलेसन अलरेडी छ ।

    अव १५ बेड थप गर्छौँ,’ मगरले भने, ‘अक्सिजन सिलिण्डर भने चार वटा मात्र पाइयो । पुरानो अक्सिजन सिलिण्डर पाँच वटा थियो । अव हामीसँग भएको अक्सिजन सिलिण्डर संख्या नौ पुगेको छ ।’

    सम्बन्धित समाचार