सोमवार, बैशाख २० २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २०, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रप्रसाद खत्रीलाई उपचार खर्च प्रदान गरिएको छ । गत भदौ १२ गते हिड्दा हिड्दै मष्तिष्क पक्षघातका कारण बेहोस भएर ढलेपछि हाल काठमाण्डौंको मोडेल अस्पतालमा उपचार गराइरहेका जितेन्द्रलाई आफन्त तथा शुभेच्छुकबाट संकलन भएको ६२ हजार ५२० रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।
ब्रेन ह्यामरेज भएपछि नाजुक अवस्थामा पुगेको र खत्री परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पुर्याउन सहयोग रकम संकलन गरेर प्रदान गरिएको सहयोग अभियानका अभियान्ता थिरेन्द्र भट्टराईले बताए । उपचार सहयोग स्वरुप राजन भट्टराईबाट २० हजार, रुद्र भट्टराईबाट ११ हजार, थिरेन्द्र भट्टराईबाट १० हजार, सुवास कठायतबाट १० हजार, रोशन देउजाबाट ५ हजार ७६० र चन्द्रमायाँबाट ५ हजार ७६० रुपैयाँ संकलन गरेर ब्रेन ह्यामरेज भएका बिरामीलाई बुधबार हस्तान्तरण गरिएको हो ।
उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका खत्री परिवार हाल काठमाण्डौंको तल्लो पासिकोटस्थित राष्ट्रिय चोकमा बसेर मोडेल अस्पताल धाइरहेका छन् । ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रका परिवारले खर्च अभावकै कारण मोडेल अस्पतालमा उपचारकैक्रममा तीन महिना बसेर बिचैमा डिस्चार्ज लिएका थिए ।
श्वासले अलि–अलि बोल्न सक्ने अवस्थाका जितेन्द्र आफै हात खुट्टा चलाउन सक्ने अवस्थामा छैनन् । अरुले हात खुट्टा चलाइदिनु पर्ने अवस्था छ । घरमुलीलाई ब्रेन ह्यामरेज भएपछि परिवारको बिचल्नी भएको छ । उनलाई ब्रेन ह्यामरेज भएपछि छोरीको पढाईमा समेत असर परेको छ । जितेन्द्रलाई सहयोग गर्नका लागि उनकी श्रीमती अनितालाई ९८६०२०२४३३ मा सम्पर्क गर्न सकिने छ ।
यसअघि चन्दा उठाएर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका पहिरो पिडित मानबहादुर खत्रीको घर पुःननिर्माण गरेपछि बाँकी रहेको ४५ हजार रकम पनि ब्रेन ह्यामरेजका बिरामीलाई प्रदान गरिएको थियो । पहिरो पिडितको खत्रीको घर पुःननिर्माणका लागि स्वदेश तथा विदेशबाट ३ लाख ६० हजार ८६२ रुपैयाँ संकलन भएको थियो ।
तर घर पुःननिर्माणका क्रममा संकलन भएकामध्ये ३ लाख २१ हजार ७०८ रुपैयाँमै खत्री दम्पत्तीको नयाँ घर ठडिएपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेजका बिरामीलाई प्रदान गरिएको अभियान्ता भट्टराईले बताए ।