मंगलवार, बैशाख १४ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १४, खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्ड डिबिएसटी कालोपत्रेको म्याद सकिन लाग्दा ४८ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ ।
२०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुज्रिएपछि थप भएको म्याद पनि आगामी २०७८ साल बैसाख २९ गते सकिँदै छ । थप भएको म्याद सकिन लाग्दा समेत सडक कालोपत्रेको कामको भौतिक प्रगती ४८ प्रतिशत र वित्तीय प्रगती ४७.७६ प्रतिशत मात्र देखिएको कन्सल्टेन्ट इन्जिनियर चञ्चलकुमार झाले बताउनुभयो ।
दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । सुरुका दिनमा तिव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पुराभएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ ।
दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले प्रतिनिधि परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले हाल खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको छ ।
याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङका नासु एवं सुचना अधिकारी मणिराम ढकालले बताउनुभयो ।
प्रतिनिधि राईले कामको जिम्मा लिए लगत्तै आवश्यक निर्माण सामग्री जुटाएर बैसाख ५ गतेदेखि सडक कालोपत्रे अन्तरगतको कामलाई अघि बढाएको कार्यालयले जनाएको छ ।