शनिवार, बैशाख ११ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ११, खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको छ । जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता सुरु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको राजाबासस्थित यलम्बर खेलमैदानमा आयोजना गरिएको (ए) र (बि) डिभिजन लिग शनिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।
कोभिड–१९ को संक्रमणलाई ध्यान दिएर सिमित अतिथिको उपस्थितिमा मात्र लिग उद्घाटन गरिएको जिल्ला फुटबल संघका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए । लिग उद्घाटन कार्यक्रममा उपमेयर बिणादेबी राई, बुईपाका वडाध्यक्ष दिनेश राई, अखिल नेपाल फुटबल संघका प्रदेश सदस्य समिर राई लगायतको उपस्थिति रहेको थियो ।
आगामी बैसाख १८ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा (ए) डिभिजनतर्फ ६ टिम र (बी) डिभिजनमा ४ टिमबिचमा प्रतिष्पर्धा हुने छ । जिल्ला लिग फुटबल प्रतियोगीताको पहिलो दिन (ए) डिभिजनतर्फका तीन वटा खेल भएका छन् । निर्धारित तालिका अनुसार भएको पहिलो खेलमा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध १ गोल गर्दै बाक्सिला फुटबल क्लव विजयी भएको छ ।
यस्तै, दोश्रो खेल सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबिच तथा तेश्रो खेल खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच भएको जिल्ला फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो ।
२०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो । (ए) डिभिजन लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईले बताए ।