शुक्रवार, बैशाख १० २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १०, कोभिड–१९ रोगको दोश्रो लहरको महामारीबाट बच्नका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङले १३ बुँदे जनस्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ । दिनानुदिन नेपालमा पनि कोभिड–१९ को दोश्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्नका लागि कोभिड संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको बैसाख ६ गतेको निर्णय अनुसार गृह–मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाको परिपत्र बमोजिम जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैसाख ८ गतेको बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउन सूचना जारी गरेको हो ।
बिहिबार जारी सूचनामा विद्यालय र कलेजका पुर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन, पार्टी प्यालेस, दोहोरी, हाटबजार, दर्शक सहितको खेलकुद तथा भीडभाड हुने सबै प्रकारका कार्यक्रम बैसाख मसान्तसम्म बन्द गर्न, बैसाख मसान्तसम्म मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा अनिवार्यरुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना गर्न/गराउन आग्रह गरिएको छ ।
यस्तै, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बिचमा दुई मिटर दुरी कायम गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी पसल र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, २५ जनाभन्दा बढि उपस्थित नहुने गरी र जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरेर मात्र मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यवश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्न/गराउन भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस, धर्मशाला प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पुर्वस्वीकृति लिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्नेगरी मात्र गर्ने, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समिक्षा, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिकरुपमै उपस्थित भएर गर्नुपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन आग्रह गरिएको छ ।
कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरी विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने, सो समय पश्चात टेकअवे र होम डेलिभरी मात्र उपलव्ध गराउने, सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न व्यवस्था मिलाउन भनिएको छ ।