Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिकामा असिनाले लाखौंको क्षती

    रावाबेँसी गाउँपालिकामा असिनाले लाखौंको क्षती


    • शुक्रवार, बैशाख १० २०७८

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिकामा असिनाले  लाखौंको क्षती
    असिनाले पुर्‍याएको क्षेत्तीको अनुगमन गरिदै

    खोटाङ । बैसाख १०, पानीसँगै परेको असिनाले खोटाङको रावाबेँसी गाउँपालिकामा लाखौंको क्षती गरेको छ । गत बैसाख २ गते राती पानीसँगै परेको भिषण असिनाले रावाबेँसी गाउँपालिका–६ हौंचुरको पैयाँमा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ लाख बराबरको अन्नवाली क्षती भएको अनुमान गरिएको छ ।

    ३१ घर परिवारको बसोबास रहेको पैयाँमा असिना पानीले आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफुलमा ठूलो क्षती पुर्‍याएको गाउँपालिकाका कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो । अनुगमनका क्रममा २५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा १३ लाख बराबरको क्षती पुगेको प्रारम्भिक मूल्यांकन गरिएको छ ।

    असिनाका कारण आलुको उत्पादन ८० प्रतिशतले घट्ने अनुमान गरिएको छ । आलुको बोट भाँचिएपछि जरामा फल्दै गरेको आलुको दाना माउ बनेर निस्कने भएकाले खान अयोग्य हुने र उत्पादनमा समेत र्‍हास आउने कृषि शाखाका संयोजक राईले बताउनुभयो । यस्तै, १५ हेक्टर क्षेत्रफलमा लगाइएको करिब ६ लाख बराबरको मकै बालीमा क्षती पुगेको छ ।

    करिब १० रोपनी जग्गामा पाकेर काट्नेबेला भएको २ लाख ५० हजार बराबरको गहुँ र जौ समेत असिनाले नष्ट पारेको छ । यस्तै, १ हेक्टर जग्गामा लगाइएको नासपाती र आल्चामा एक लाख र १ हेक्टर जग्गामा लगाइएको स्याउमा ५० हजार बराबरको क्षती भएको गाउँपालिकाले जनाएको छ ।

    असिनाले काउली, बन्दा जस्ता तरकारी बाली समेत पूर्णरुपमा नष्ट पारेको गाउँपालिकाले जनाएको छ । असिनाले क्षती पुर्‍याएपछि रुपाकोट फलफुल तथा तरकारी उत्पादन कृषक समुहले कृषिसँग सम्वन्धित कार्यालयसँग राहतका लागि गुहार माग्ने निर्णय गरेको छ ।

    सम्बन्धित समाचार