बुधवार, बैशाख ८ २०७८
नेपाल वाइड
खोटाङ । ८ बैसाख, ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाबाट डुवानमा पर्ने खकोटाङको रावाबेँसी गाउँपालिकाभित्रका जग्गाको श्रेष्ता उतार्ने काम सकिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलबिद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये रावाबेँसी गाउँपालिका (खोटाङ) भित्रका जग्गाको श्रेष्ता उतारको काम पुरा भएको हो ।
हाल जलबिद्युत आयोजनाबाट डुवानमा पर्ने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गाको श्रेष्ता उतार्ने काम भइरहेको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताउनुभयो । समुद्र सतहबाट ६५० मिटर उचाईसम्मका जग्गा जलबिद्युत आयोजनाको जलाशयबाट डुवानमा पर्ने छन् ।
डुवानमा पर्ने जग्गालाई मुआव्जा दिएर अधिग्रहणका लागि जग्गाको श्रेष्ता उतार्ने काम सुरु गरिएको हो । ईआइए प्रतिबेदनमा तीन जिल्लाका १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने उल्लेख भएपनि आयोजनाबाट २४/२५ सय घरधुरी प्रभावित हुने देखिएको आयोजनाका उपनिर्देशक प्रखाछेँले बताउनुभयो ।
दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाले डुवान क्षेत्रका जग्गाधनीको नाममा जग्गाको श्रेष्ता कायम गर्नका लागि सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । आयोजनाको जलाशयबाट डुवानमा पर्ने कतिपय स्थानीयको नाममा मालपोत कार्यालयमा जग्गाको श्रेष्ता कायम नदेखिएकाले श्रेष्ता कायम गर्नलागि सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो ।
आयोजनाले चैत २४ गते पठाएको पत्रको आधारमा सोही दिन प्रभावित क्षेत्रका वडालाई सहजीकरणका लागि पत्राचार गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो ।