मंगलवार, बैशाख ७ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ७, खोटाङमा कोभिड–१९ विरुद्ध पहिलो खोप लगाएका नागरिकलाई दोश्रो खोप दिन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्ध पहिलो खोप लगाएका व्यक्तीलाई मंगलबारदेखि दोश्रो खोप दिन सुरु गरिएको हो ।
यसअघि पहिलो खोप लगाइसकेका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई दोश्रो खोप दिएर दोश्रो खोप लगाउने अभियान सुरु गरिएको हो । अनमी शुशिला आचार्य बस्नेतले प्रमुख जिल्ला अधिकारी शर्मालाई दोश्रो खोप लगाइदिएकी थिईन् ।
पहिलो चरणमा पहिलो खोप लगाएका व्यक्तीलाई मंगलबारदेखि आगामी बैसाख ११ गतेसम्म दोश्रो खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । दोश्रो खोप लगाउनका लागि जिल्ला अस्पताल, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाका लागि भने जिल्ला अस्पताल दिक्तेलबाट दोश्रो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
पहिलो चरणमा खोटाङका १ हजार ७६१ जनाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप लगाएका थिए । गत माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको खोप अभियानकाक्रममा ६९१ जना र फागुन २ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको अभियानकाक्रममा १ हजार ७० जनाले कोभिशिल्ड खोप लगाएका थिए । स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ ।