बुधवार, बैशाख १ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएकी छन् । उपमेयर राईलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट विभुषित गरेकी हुन् । प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएकी उपमेयर राईलाई मेयर दिपनारायण रिजालले फेसबुकमार्फत बधाई दिएका छन् ।
‘स–गौरव हार्दिक बधाई ! प्रबल जनसेवा चतुर्थ पदकबाट बिभुषित हुनुभएकोमा सम्पूर्ण नगरबासीको शिर उच्च भएको छ,’ मेयर रिजालले लेखेका छन्, ‘सम्पुर्ण नगरबासिकोतर्फबाट स–गौरव हार्दिक बधाई तथा शुभकामना ।’ उपमेयर राईलाई आफन्त तथा शुभेच्छुकले पनि बधाई दिइरहेका छन् ।
उपमेयर राई सम्भवतः नेपाल सरकारले प्रदान गर्ने पदक पाउने जिल्लाकै पहिलो जनप्रतिनिधि बनेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सरकारले विभूषण प्रदान गर्ने गरेको छ ।
उपमेयर राई सँगै झापाको दमक नगरपालिकाका उपमेयर गिता अधिकारी, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई र बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर सृष्टि रेग्मी पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएका छन् ।