बुधवार, बैशाख १ २०७८
नेपाल वाइड
खोटाङ । बैशाख १, खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका उद्योग बाणिज्य संघले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङ समक्ष मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग गरेका छन् । मन्त्री नेम्वाङलाई मंगलबार ज्ञापन–पत्र बुझाउँदै चार जिल्लाका उद्योग बाणिज्य संघले सिद्धिचरण राजमार्ग अन्तरगत पर्ने मिरचैया–घुर्मी–कटारी सडक खण्डको ओटासिल पिच उक्किएपछि जिर्ण बनेको सडक स्तरोन्नतीको माग गरेको हो ।
तराईसँगको लिंक रोडकारुपमा रहेको सडक जिर्ण हुँदा यात्रा गर्नदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्यवस्तु ढुवानीमा सकस भइरहेकाले मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग राखिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।
चार जिल्लाका उद्योग बाणिज्य संघले मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री समक्ष माग राखेका छन् । जीर्ण सडक स्तरोन्नतीको मागमा एमाले प्रमुख सचेतक बिशाल भट्टराई सहित उद्योग बाणिज्य संघको टोली मन्त्री नेम्वाङलाई भेट्न गएका थिए ।
‘मिरचैया–कटारी–घुर्मी सडक माथिल्लो सगरमाथाको लिंक रोड हो । हाल यो खण्ड जिर्ण हुँदा वर्षेनी धनजनको क्षती भइरहेको छ,’ उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राईले भने, ‘ओटासिल पिच उक्किएपछि कच्चीजस्तै बनेको सडकलाई स्तरोन्नती गरेर हिउँद वर्षा चल्ने बनाउन मन्त्री समक्ष माग गरेका हौँ ।’
माथिल्लो सगरमाथाका तीन जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग घुर्मी–कटारी (४६ किलोमिटर) सडक खण्ड सबैभन्दा जिर्ण बनेको छ । खोटाङको साविकको सदरमुकाम दिक्तेल, ओखलढुंगाको ओखलढुंगा र सोलुखुम्बुको फाप्लुलाई पुर्वी शहरसँग जोड्ने सो सडक जिर्ण हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । घुर्मी–कटारी सडक जिर्ण हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने जाने यात्रु समेत मारमा परेका छन् ।