Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    मौरी पालक किसानलाई गाउँपालिकाको तालिम

    मौरी पालक किसानलाई गाउँपालिकाको तालिम


    • सोमवार, चैत्र ३० २०७७

    • नेपाल वाइड


    मौरी पालक किसानलाई गाउँपालिकाको तालिम

    खोटाङ । चैत ३०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मौरी पालन गर्दैआएका किसानका लागि मौरी पालन सम्वन्धी तालिम आयोजना गरेको छ । मौरी पालन सम्वन्धी आवश्यक सीप प्रदान गर्दै थप व्यवसायीक बनाउने लक्ष्यका साथ गाउँपालिकाले मौरी पालक किसानलाई भेला गरेर मौरी पालन सम्वन्धी तालिम आयोजना गरेको हो ।

    आइतबार र सोमबार आयोजना गरिएको तालिममा गाउँपालिकाभरीका ४२ किसानलाई प्राक्टिकल विधि अपनाएर मौरी पालनका लागि उपयुक्त हावापानी, मौरी चिन्ने तरिका, मैन बनाउने तरिका, घार बिभाजन गर्ने विधि लगायतका सिप सिकाइएको गाउँपालिकाका कृषि शाखा संयोजक सरगम वुढाथोकीले बताईन् ।

    व्यवसायीक रुपमा मौरी पालन गरिरहेका तथा घार राखेर सामान्य मात्रामा मौरी पालन गर्दैआएका किसानलाई सहभागी गराएर तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी किसानलाई मौरी विकास केन्द्र गोदावरीबाट अवकास प्राप्त विज्ञ सिताराम ढकालले सहजीकरण गरेका छन् । ७ वडा रहेको गाउँपालिकामा हाल १० किसानले व्यवसायीक रुपमा मौरी पालन गर्दैआएका छन् ।

    किसानलाई मौरी पालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाएर आधुनिक घारको प्रयोगमा वृद्धि गर्दै महको उत्पादन बढाउने र आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । आगामी आर्थिक वर्ष मौरी पालन सम्वन्धी अनुदानकै व्यवस्था गरेर मौरी पालनबाट किसानलाई थप व्यवसायीक बनाउनेगरी तालिम दिइएको हो । तालिममा सहभागीलाई मौरी सहितको घार ल्याएर मौरीको घार छुट्याउने, गोलो पार्ने, मह काढ्ने लगायतका सीप सिकाइएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा याम्खाका धम्ब कार्की, दिपबहादुर खत्री, छविलाल मगर, टेम्माका जंग मगर, डाँडागाउँका सुवास खड्का, छितापोखरीका जितेन्द्र राई, छोरम्बुका टेनिस राई, सुनिल राई, संग्राम राई र सछितापोखरीका धनबहादुर कट्वालले व्यवसायीक रुपमा मौरी पालन गर्दैआएका छन् ।

    उनीहरुको घरमा १८ घारसम्म मौरी पालन गरिएको छ । ‘किसानलाई मौरी पालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाएर मह उत्पादनबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘किसानलाई मौरीको परिचयदेखि मौरी पालनका लागि उपयुक्त हावा पानीको पहिचान, मौरी चिन्ने तरिका, मह काढ्ने सीप, रानो छुट्ट्याउने तरिका, आधार चाका बनाउने, मौरीको गोला निर्धारण गर्ने लगायतका सीप सिकाइएको छ ।’

    सम्बन्धित समाचार