शनिवार, चैत्र २८ २०७७
नेपाल वाइड
काठमाडौं । कोभिड-१९ को दोस्रो लहर संकटपूर्ण बन्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले जनस्वास्थ्यसम्बन्धी 'प्रोटोकल' पूर्ण रूपमा पालना गराउने निर्णय गरेको छ ।
कोभिडको पछिल्लो भेरियन्ट निकै चुनौतीपूर्ण बन्दै गएको भन्दै स्कुल, कलेजलगायत भिडभाड हुने स्थानहरूमा सावधानी अपनाउन तथा आवश्यक निर्णय जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई नै दिने निर्णय गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
उनले तत्कालै शैक्षिक क्षेत्रलगायत भिडभाड हुने स्थानहरू बन्द गर्ने संकट व्यवस्थापन केन्द्रको योजना नरहेको तर कोभिडको कहर चुनौतीपूर्ण बन्दै गएकाले जिल्ला संकट व्यवस्थापनले नै निर्णय लिने जानकारी दिए ।
केही दिनअघि काठमाडौंको जिल्ला संकट व्यवस्थापन केन्द्रले उपत्यका छिर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको थियो । उपत्यका प्रवेश गर्ने सबै नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरिएको थियो ।
त्यसका लागि आवश्यक पर्ने किट स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने र सम्बन्धित नगरपालिकाको सहयोगमा हेल्थ डेस्क राख्ने निर्णय गरिएको थियो ।
त्यस्तै, खोपलाई अहिले लक्षित गरिएका समूहसम्म प्रभावकारी रूपमा पुर्याउने, आवश्यक सतर्कता अपनाउन देशैभर 'सर्कुलर' गर्ने, अन्तर्राष्ट्रिय नाकाहरूमा विशेष सावधानी अपाउने निर्णय गरेको पनि पोखरेलले बताए । कोरोना संक्रमण बढ्दै गए शैक्षिक संस्था तीन सातासम्म बन्द गर्ने विषयमा बैठकमा सामान्य छलफल भएको थियो ।