शुक्रवार, चैत्र २७ २०७७
नेपाल वाइड
खोटाङ । चैत २७, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका लागि खेलाडी छनौट सुरु गरेको छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागीताका लागि नगरपालिकाले खेलाडी छनौट सुरु गरेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०७७ अन्तरगत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले खेलाडी छनौट प्रतियोगीता उद्घाटन गरेका छन् ।
हलेसीको बस्थानस्थित खेलमैदानमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तरगत छात्र/छात्रा भलिबल, सितोरियो कराते, कबड्डी र एथ्लेटिक्सका खेलाडी छनौट गरिने नगरपालिकाका खेलकुद प्रशिक्षक मिलन कसजूले बताए । छनौट प्रतियोगीता शनिबार बिहान ७ बजेदेखि सुचारु हुने नगरपालिकाले जनाएको छ ।
भलिबलको छनौट प्रतियोगीता दुर्छिम माबिमा तथा सितोरियो कराते, कबड्डी र एथ्लेटिक्स हलेसीस्थित बस्थानमा गर्ने बन्दोबस्त मिलाइएको छ । आगामी चैत ३१ गतेसम्म जारी रहने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीतामा नगरपालिकाका १५ विद्यालयको सहभागीता रहेको छ ।

छात्र भलिबलतर्फ ९ टिम र छात्रा भलिबलतर्फ ३ टिमबिचमा प्रतिष्पर्धा हुने छ । छनौट प्रतियोगीताबाट छानिएका उत्कृष्ट खेलाडीले आगामी बैसाख ३ गतेदेखि हुने जिल्ला स्तरिय छनौट प्रतियोगीतामा सहभागी हुने अवशर पाउने छन् ।
जिल्लामा छनौट भएका खेलाडीले प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी हुने अवशर पाउने खेलकुद प्रशिक्षक कसजूले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छनौट प्रतियोगीता उद्घाटन कार्यक्रममा उपमेयर बिमला राई, विभिन्न वडाका वडाध्यक्ष लगायतले उपस्थिति रहेको थियो ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा १२ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छनौट प्रतियोगीताकै अवशरमा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सुरु गरिएको हो । सितोरियो करातेमा ५० केजी तौल समुहमा पुरुषतफर्m दिक्तेलका सुर्यचन्द्र राई र दित्तेलका किङजङ राई फाईनल प्रवेश गरेका छन् ।
दिक्तेलका मन्दिप अधिकारी र हलेसीका कबिन्द्र राई तेश्रो भएका छन् । यस्तै, महिला ५० केजी समुहमा जालपाका डुनु राई र सुधा राई फाईनलमा प्रवेश गर्दा दिक्तेलका स्मृति राई र अनिशा गुरुङ तेश्रो भएकी छन् ।
२५ केजी तौल समुहमा जालपाका युनिस राई र दिक्तेलका हिमाल राई फाईनल प्रवेश गरेका छन् भने दिक्तेलका आशिष राई र हलेसीका एञ्जल राई तेश्रो भएको नेपाल सितोरियो कराते संघले जनाएको छ । बाँकी खेल शनिबार बिहानबाट सुचारु हुने छ ।