शुक्रवार, चैत्र २७ २०७७
नेपाल वाइड
खोटाङ । चैत २७, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोबाट बिस्थापित भएका पाँच परिवारलाई राहत प्रदान गरेको छ । गत चैत २२ गते स्थानीय सामुदायीक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको खोटेहाङ गाउँपालिका प्रतिनिधि इन्द्रकुमार राई (इन्द्र नारथुंगे)ले वडा सदस्य केदारप्रसाद ढकालको रोहवरमा डढेलो पिडितलाई प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेको हो । डढेलोले घर जलेपछि पूर्णरुपमा विस्थापित भएका पिडितलाई दैनिक जीवनयापनमा सहयोग पुर्याउनका लागि राहत रकम प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।
स्थानीय मड्केमा सामुदायीक वनमा लागेको डढेलो गाउँ प्रवेश गर्दा खोटाङबजार पुरानो गाउँ र रातामाटाका कटेरा सहित नौ घर जलेको थियो । डढेलोले घर तथा धनमाल नष्ट हुँदा स्थानीयको लाखौंको क्षती भएको थियो । दमकललाई प्रयोग गरेर आगो निभाइएकाले अन्य घरलाई भने डढ्नबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
यससँगै चालु आर्थिक वर्ष २६ पूर्ण र २ आंशिक गरी २८ अग्नी पिडित परिवारलाई राहत प्रदान गरिसकिएको कोषले जनाएको छ । प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो ।
२० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।